दोलखामा सत्ताधारी गठबन्धनले सत्ताको दुरुपयोग गर्यो: पार्वत गुरुङ

स्थानीय तह निर्वाचनको मतपरिणाम आएको छ । दोलखामा गठबन्धनले बढी सिट जितेको र एमालेले स्थानीय सत्ता गुमाईरहेको घट्नाबाट निरुत्साहित र विचलित हुनुपर्ने कारण छैन । संख्यामा केही तलमाथि हुँदैमा दोलखामा एमाले कमजोर भयो भन्ने बुझाई र मनोविज्ञान छ भने त्यो हटाउन अनुरोध गर्छु ।

एमाले २०४९ सालमा पनि कमजोर भएको थियो । त्यसलाई ५४ सालमा रिभाईभ गरेर एमालेलाई बलियो बनायौं । २०५६ मा पार्टी विभाजन हुँदापनि दोलखाको दुबै निर्वाचन क्षेत्रमा एमालेले जित्यो । २०६४ सालको निर्वाचनमा पनि एमाले पराजित भएको थियो । २०७० सालको निर्वाचनमा एमाले फेरी सुदृढ भयो र निर्वाचनमा विजय हाँसिल गर्यो । २०७४ सालको निर्वाचन एमाले थप सुदृढ र शक्तिशाली दलको रुपमा उदायो ।

अहिलेको परिस्थितिमा पाँच दलीय गठबन्धन मात्रै नभएर दोलखामा आन्तरिक समस्याहरु व्यवस्थापन गर्न नसक्दा अदृष्य रुपमा ६ दलसँग चुनाव लड्नुपर्ने परिस्थिति बन्यो । यी सबै चुनौतीका बाबजुत पनि दुई अध्यक्ष र पाँच उपाध्यक्ष एमालेले जितेको छ । जिल्लाको केही स्थानीय तहमा नसोचेको परिणाम आएको छ । धेरै ठाउँमा झिनो मतान्तरले पार्टीका उम्मेदवारले हार व्यहोर्नुपरेको छ ।

बैतेश्वरमा राज्यलाई चुनौती दिँदै रातभर गाउँ, डाँडाकाँडा घेराउ गर्ने, ढुंगामुढा गर्ने, बन्दुक पड्काउने, मतदातालाई तर्साउने, स्थानीय प्रहरी सेटिङ गरेर गुण्डाहरुलाई स्कटिङ गर्ने जस्ता हर्कतहरु भए । पार्टीका उम्मेदवार नेता कार्यकर्ता र मतदाताहरु बुथसम्म पुग्नै नदिने परिस्थिति बनाईयो । र निर्वाचनमा खटिएका कर्मचारीको मिलेमतोमा एकलौटी बुथ कब्जा गरियो । मतदानको अघिल्लो रातदेखिनै त्यस्ता गतिविधि भए । वैतेश्वर १, २ र ३ मा सिधै बुथ कव्जा गर्ने परम्परा यो चुनावमा पनि दोहोरियो । यसलाई कसरी स्वीकार्न सकिन्छ ? यसरी बुथ कब्जा गरेर दोलखामा देशकै नमुना निर्वाचन गराईएको छ ।

अन्य स्थानमा यसपटक बुथ कब्जा रोक्न सफल भएका छौं । तर बुथ कब्जाको नयाँ रुप देखियो । जिरी नगरपालिका वडा नम्बर ५ र ८ मा सुरक्षा निकायको समन्वयमा सिधै बुथ कब्जा गर्न रोकियो तर पार्टीका एजेण्ट किनेर एकलौटी मतदान गरियो ।

शैलुङमा उपाध्यक्षसहित बहुमत स्थानमा जितियो । तर अध्यक्षमा झिनो मतान्तरले हार्न पर्यो । दुधपोखरीको कल्लाबारीमा ३ सय मत सत्तारुढ गठबन्धनबाट एकलौटी हाल्ने काम भयो । भुसाफेदामा सेटिङमा २५० फर्जीमत खसालियो । विगुको वराङमा हुलहुज्जत गरेर मतदाता भगाएर एकलौटी गरिएको छ । विगु ७ मा मतदानको अन्तिममा ३ सय फर्जी मत हालियो । साँढे ४ बजेपछि धेरै स्थानमा त्यस्ता हर्कहरु भए । सत्तारुढ गठबन्धनको बैधानिक बुथ कब्जाको हर्कत रोक्न सकिएन ।

यो पटकको निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारीसँग सेटिङ गरेर राज्यशक्तिको चरम दुरुपयोग गरेर नयाँ रुपमा धाँधलीको अभ्यास भएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मी र कर्मचारी सिधै गृहमन्त्रालय हेटक्वार्टरबाट परिचालित भए । जिल्लाको सिडियो र डिएसपीलाई समेत जानकारी नदिई गृहमन्त्रालयमा छुट्टै सचिवालय खडा गरेर असहयोग गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई तुरुन्त परिवर्तन गर्ने काम भएको छ ।

दुई तरिकाले गरिएको बुथ कब्जा रोक्न नसक्नु, पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्नु टिकट बितरणमा भएका केही कमीकमजोरी, जनताको सत्ताबिरोधी मनोविज्ञान आदी करणले दोलखामा एमालेको पक्षमा सोचेजस्तो परिणाम आउन सकेन । यी सबै कुरालाई रिथिंक र रियलाईजेसन गरेर पार्टीलाई फेरी नयाँ उचाईमा उठाईनेछ । अहिलेको परिणामले पार्टी निर्माणको ढोका खोलेको छ । यसलाई पार्टी निर्माणको अबसरको रुपमा सदुमयोग गर्नुपर्छ । कत्तिपनि विचलित नहुन हारलाई अर्को जीतमा बदल्ने पार्टीका सहयोगी, समर्थक, शुभचिन्तक, आम मतदाता, पार्टीका नेता कार्यकर्तालाई विस्वास दिलाउन चाहन्छु ।

–एमाले पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा व्यक्त गरेको सम्पादित अंश 


प्रकाशित | ७ जेष्ठ २०७९, शनिबार २२:५६