नेपाल र साउदी अरवबीच द्विपक्षीय वार्ता, यी सहयोग सम्झौतामा भयो हस्ताक्षर

काठमाण्डौ – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सरकारी अधिकारीसँग भेटवार्ता गर्नु भएको छ ।

नेपालको ‍औपचारिक भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमारले मंंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो ।

भेटघाटको क्रममा नेपाल–साउदी अरब सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

त्यसपछि साउदी राजकुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नु भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल–साउदी अरब द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका साथै बहुपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले साउदी भिजन २०३० को सफलताको शुभकामना दिँदै दुई देशबीचको आर्थिक साझेदारी र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नु भएको थियो ।

नेपाली कामदारको हकहितको रक्षालगायत विदेशी कामदारलाई उपयुक्त र द्रुत कानुनी संरक्षणको अभावमा साउदीमा नेपालीले झेल्नुपरेका समस्याको उचित व्यवस्थापनका निम्ति शीघ्र श्रम सम्झौता गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको थियो ।

साथै कोभिड–१९ को महामारीका बेला साउदी सरकारले आफ्ना नागरिक सरह नेपालीप्रति देखाएको सद्भाव, औषधोपचार एवम् खोपको व्यवस्था गरेकामा प्रधानमन्त्रीले आभार व्यक्त गर्नु भएको थियो ।

दुवै देशका परराष्ट्रमन्त्री बीच प्रतिनिधिमण्डलस्तरीय वार्ता

त्यस्तै, दुवै देशका परराष्ट्रमन्त्री बीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । दुई परराष्ट्र मन्त्रीले सहयोगात्मक द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका बारेमा छलफल गर्दै वैदेशिक रोजगारी, नेपाली आप्रवासी कामदारको हित, हजयात्रीको सङ्ख्या वृद्धि, सम्बन्ध सुदृढीकरणलगायत पारस्परिक लाभका क्षेत्रमा सहयोगका सम्भावनाहरू खोजिनुपर्नेमा जोड दिनुभएको थियो । आर्थिक साझेदारीका साथै बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्न उहाँहरूबीच सहमति भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि परराष्ट्र मन्त्रीद्वयले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आपसी सम्झौता भएसँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न सहज भएको छ । त्यस सम्झौता द्विपक्षीय सहमतिमा कार्यान्वयन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि साउदी राजकुमार नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दिवाभोज आयोजना गर्नुभएको थियो ।

साउदी राजकुमारले भ्रमण पूरा गर्दै आजै बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभएको छ । राजकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गर्नु भएको थियो ।

नेपाल र साउदी अरेबियाबीच १५ मार्च १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबीचको सुमुधर सम्बन्ध रहँदै आएको छ ।

साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार २०:४७