विश्वकप छनोट यू–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो २८३ रनको चुनौती

काठमाडौं : आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोटमा नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो। कप्तान रोहितकुमार पौडेलको ९५ रनको मद्दतमा नेपालले मलेसियामा जारी प्रतियोगितामा सिंगापुरविरुद्ध २८२ को बलियो लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भएका हुन । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् । रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भएको हो । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।

शीर्षक्रमले अपेक्षित प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराए ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतमलाई गुमाएको थियो । रितलाई राहुल शर्माले १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २ २ तथा सिंघवीले १ विकेट लिए ।।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ११:४६