नागरिकता सम्बन्धी विधेयक राज्य ब्यवस्था समितिबाट बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपालीसँग विवाह गरेकी विदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रावधान बहुमतले पारित गरेको छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले पाउने वैवाहिक अंगिकृत नागरिकताको विषयमा दलहरूबीच फरक मत भए पनि समितिबाट बहुमतले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित भएको हो ।

विधेयकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था छ ।

तर उक्त अवधिमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउनसक्ने व्यवस्था छ ।

उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै रुपमा फरक मत दर्ता गराए । सांसदहरु दिलेन्द्रप्रसाद बडु, राजेन्द्र महतो, देवेन्द्र राज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेश कुमार सिंह, मिना पाण्डे र विनोद चौधरीले ‘नोट अफ डिसेन्ट’ जनाउनुभएको हो ।


प्रकाशित | ७ असार २०७७, आईतवार १९:२७