एक दुई दिनमै मन्त्रीहरू हेरफेर, यी हुन् सम्भावित नयाँ अनुहार

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले एकरदुई दिनमै मन्त्रीहरू हेरफेर गर्ने घोषणा गरेका छन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी दिएको हो । सचिवालय बैठकलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूसँग परामर्श गरेर सोमबारभित्रै मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको कामलाई गति दिन र परिणाममुखी काम गर्न मन्त्रिपरिषद् पुनर्गठनको योजनामा रहेको जानकारी गराएका थिए । ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचमा छु, सकभर छिट्टै गरिनेछ, तपाईंहरूले पनि सुझाब दिनुहोस्,’ प्रधानमन्त्रीले सुझाब माग्दै बैठकमा भनेका थिए ।

प्रधानमन्त्री ओलीले प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई दोस्रो वरीयताको उपप्रधानमन्त्री बनाउने चर्चा चले पनि उनलाई नियुक्त गर्न संविधान नै बाधक देखिएको छ । संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित भइसकेको व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था गरेको छ ।

नयाँ मन्त्रीका नाममा अहिलेसम्म पूर्वएमाले समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा छ । त्यस्तै, पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु शाहलगायतको नाममा दुई अध्यक्षको तहमा अनौपचारिक छलफल चलिरहेको छ ।

पहिलो सम्बन्धित व्यक्तिको योग्यता र कार्यकुशलता, त्यसपछि मात्र भौगोलिक, जातीय, क्षेत्रीय, लैंगिक सन्तुलनका आधारमा मन्त्री छान्नुपर्ने नेकपाभित्र दबाब छ । राष्ट्रिय सभामा दुई वर्षका लागि सदस्य भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन लागेका कारण अर्थ मन्त्रालय हाँक्न सक्ने व्यक्तिलाई मन्त्री बनाउनुपर्ने दबाबमा प्रधानमन्त्री छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम अर्थमन्त्रीको चर्चामा छ  भन्दै आजको नयाँ पत्रीका दैनीकमा शुरोजंग पाण्डले समाचार लेखेका छन् ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार ०८:५६