कृषि क्षेत्रलाई विस्तार गर्नको निम्ति नगरपालिका सदैव तयार : बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाको कृषि क्षेत्रलाई विस्तार गर्नको निम्ति नगरपालिका सदैव तयार रहेको बताउनुभएको छ । मेयर थापाले आफू किसानको छोरो भएकाले किसानको हितमा काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नगरप्रमुख थापाले प्रत्येक वडामा बृहत योजना बनाएर किसानहरुले ल्याउने हो भने नगरपालिका त्यसलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित शुभभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभामा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख थापाले एकिकृत कृषि प्रणालीको विकासका निम्ति प्रत्येक वडामा १ करोड अनुदान दिन नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई प्रबद्र्धन गर्न नगरपालिका तयार छ, तर त्यसको व्यवस्थित र योजनाबद्ध एकिकृत कृषि प्रणाली निर्माण गर्नु जरुरी छ । यदि किसानहरुबाट व्यवस्थित योजना आउने हो भने श्रोत विनियोजन गर्न नगरपालिका तयार छ ।’

आफूलाई जनताले निर्वाचित गरेका कारण जनताको अपेक्षा अनुसार काम गर्नु आफ्नो दायित्व र जिम्मेवारी भएको बताउँदै नगरप्रमुख थापाले भन्नुभयो, ‘म किसानको छोरो हुँ, अहिलेपनि मेरा परिवारले खेती किसानी गर्छन् । जनताले जिताएका कारण अहिले भने म जनताको सेवामा क्रियाशील छु ।’

अहिले सहकारी संस्थाका कारणले नै शेयर सदस्यहरुमा आर्थिक कारोबार गर्न सहज भएको बताउँदै नगरप्रमुख थापाले कुनैपनि घरायसी कामकाज र व्यवहार गर्नको निम्ति बैंकको भन्दा सहकारीले सहजता ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीको विस्तारले गर्दा नै तपाईहरुको जोश बढेको छ । कुनैपनि व्यवहार गर्नको निम्ति आफू सदस्य रहेको सहकारीबाट पैसा सापटी लिन सक्नुहुन्छ ।’ आफू सदैव जनताको सेवामा समर्पित हुने भएकाले नगरवासीले दिएको सुझावकै आधारमा आफूले योजना तय गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।


प्रकाशित | १ मंसिर २०७६, आईतवार १४:४७