चाँगुनारायण नगरबासीलाई यातायातको सहज पहुँचमा पुर्‍याउन ‘विद्युतीय नगर बस’ सञ्चालनमा ल्याइँदै

भक्तपुर: चाँगुनारायण नगरबासीलाई सार्वजनीक यातायातको सहज पुहँचमा पुर्याउन विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । विद्युतीय बस सञ्चालनका लागि नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीसहितको कर्मचारीको टोलीले बिहिबार विभिन्न स्थानमा बसको परीक्षण समेत गरेको छ ।

नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत वातावरण मैत्री बनाउने उद्देश्यका साथ विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । नगरप्रमुख खत्रीले स्थानीय बासिन्दालाई यातायातको सहज पहुँचमा पुर्याउनका लागि विद्युतीय बस परिक्षण गरिएको जानकारी दिनुभयो ।

मेयर खत्रीले परिक्षणबाट बस प्रभावकारी हुने देखिएमा नगर बस सञ्चालनमा ल्याउने र परिक्षणको नतिजा केही समयपछि मात्रै आउने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका काठमाडौं उपत्यकासँग जोडिएको स्थानीय तह भएता पनि भौगोलिक विकटता र यातायात व्यवसायीको सिन्डिकेटले गर्दा स्थानीय बासिन्दा सार्वजनिक यातायातको पहुँचभन्दा बाहिर रहेकाले स्थानीयको माग र गुनासो अनुसार बस सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनीक यातायात प्रणालीलाई सुदुढ र ब्यवस्थित बनाउन उपत्यकाभित्रका अन्य स्थानीय तहसँग समन्वय, सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनीक यातायात योजना कार्यान्वयनमा ल्याउने र स्थानीय ब्यवसायीहरुको साझेदारीमा विद्युतीय सवारी साधान सञ्चालनका लागि पहल गर्ने उल्लेख गरिएको छ ।


प्रकाशित | २८ असार २०८०, बिहीबार २०:१०