काठमाडौं: डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा निर्माण भइरहेको ६ सय घनमिटर ओभरहेड पानी ट्याकीको काम तीब्र गतिमा अगाडि बढेको हो ।

६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत चैतमा नगर प्रमुख उपेन्द्र कार्कीले पानी ट्याकीको शिलान्यास गरेर निर्माण कार्य शुरु गरिएको थियो ।

वडा नंं ५ का वडाध्यक्ष शंकर पाण्डेले मंगलबार खानेपानी आयोजनाको निरीक्षण गर्नु भएको छ । वडाध्यक्ष पाण्डेले निरीक्षण गर्दै निर्माण कार्य तीब्र गतिमा अगाडि बढेकोमा खुसी ब्यक्त गर्नुभयो ।

उहाँले ट्यांकी निर्माण कार्य दशैसम्म सम्पन्न हुनेमा विश्वास समेत ब्यक्त गर्नुभयो । साथै आयोजनाको भवन पनि निर्माण कार्य तीब्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
सो आयोजना सम्पन्न भएपछि वडा नंं ५ का वडाबासीसँगै करिब ३ हजार घरधुरी खानेपानीबाट लाभान्वित हुनेछन् । आयोजनाको लागि एसीयाली विकास बैकले ७० प्रतिशत अनुदान सहयोग र बाँकि कागेश्वरी मनोहरा नगरपालिका र स्थानीय उपभोक्ताको सहयोग रहेको छ ।
प्रकाशित | १२ भाद्र २०८०, मंगलवार १७:५८