२० वर्षपछि निगमले भण्डारण क्षमता बढाउँदै

काठमाडौं : नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो ।

यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले गण्डकी प्रदेशलाई लक्षित गरेर १० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको जानकारी दिए । यसले कुल भण्डारण क्षमतामा १५ प्रतिशत थप गर्ने उनले जानकारी दिए । एक अर्ब लागतमा भण्डारण गृह स्थापना गर्न लागिएको पौडलले जानकारी दिए । यो समाचार आजको कारोबार दैनीकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

इन्जिनियरिङ कलेज र निगमको प्राविधिक टोलीले डिजाइन गरेर सो भण्डारण गृह निर्माण गरिने छ । हाल पोखरामा दुई हजार दुई सय किलोलिटर डिजेल र चार सय किलोलिटर पेट्रोलको भण्डारण रहेको छ । थप १० हजार किलोलिटर डिजेलको भण्डारण स्थल निर्माण गरेसँगै यसले एक महिनाको माग धान्न निगमको भनाई छ ।

निगमले आफ्नै जग्गामा बनाउन लागेको सो भण्डारणस्थल बाराको अमलेखगन्जपछिकै ठूलो हुने छ । सो भण्डारणस्थलबाट काठमाडौंमा समेत तेल आपूर्ति गर्न सकिने निगमको भनाइ छ । आफ्नै जग्गामा निर्माण गर्न लागिएको भण्डारण गृहको निर्माण कार्य दुई वर्षमा सकिने निगमले अनुमान गरेको छ ।हाल निगमसँग भएकोभण्डारण क्षमताले एक सातामात्र बजार माग धान्ने गर्छ । आपूर्तिमा अवरोध हुँदा साथ बजारमा इन्धनको अभाव हुने गर्छ । हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यासको सञ्चिति चार दिनका लागिमात्र छ ।

नेपालमा अन्तिमपटक आर्थिक वर्ष २०५५(५६ मा एसियाली विकास बैंकको सहयोगमा अमलेखगन्ज, थानकोट र पोखराको डिपोको ३० हजार किलोलिटरको भण्डारण गृहको स्तरोन्नति गरी ७० हजार किलोलिटर क्षमताको बनाइएको थियो । त्यसपछि भण्डारण गृहको क्षमता स्तरोन्नति भएको छैन । झन् खाना पकाउने ग्यासको भण्डारण गृह सरकारसँग छैन ।निगमसँग हाल करिब ७१ हजार किलोलिटरको इन्धन भण्डारण गर्न सक्ने भण्डारण गृह छ ।

तर प्राविधिक दृष्टिकोणले त्यस परिमाणमध्ये करिब १० प्रतिशत वर्षभरी ट्ययांकीमै मौज्दात गरी राख्नुपर्छ । ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत ट्ययांकीमै र बाँकी ६५ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ । यही ६५ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ ।देशभर पेट्रोल ९ हजार ३८४, डिजेल ४६ हजार ५ सय र हवाई इन्धन ८ हजार ५०६ किलोलिटर गरी जम्मा भण्डारण क्षमता ७१ हजार ७०९ किलोलिटर मात्र छ । हाल निगमसँग पेट्रोलियम पदार्थ भण्डारण काठमाडौंलगायतका विभिन्न १२ स्थानमा छन् । विराटनगर, जनकपुर, अमलेखगन्ज, मन्थली पोखरा, भैरहवा, भैरहवा पम्प, नेपालगन्ज सुर्खेत, धनगढी र दिपायल छन् । विराटनगर भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ५६०, डिजल ८ हजार ९ सय १०, मट्टितेल, २ हजार १७०, र हवाई इन्धन २८० गरी जम्मा ११ हजार ९२० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

जनकपुर पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ३० डिजल १४०, मट्टीतेल, ७०, र जम्मा २४० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । अमलेखगन्ज भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल १ हजार ९३०, डिजल १९ हजार ८ सय , मट्टीतेल, १ हजार ५ सय किलोलिटर गरी जम्मा २३ हजार २३० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।काठमाडौं भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ६ हजार ६०, डिजेल ८ हजार ४ सय मट्टीतेल, ७ सय ६० र हवाई इन्धन ७ हजार ६ सय ४० गरी जम्मा २२ हजार ७८० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । निगमसँग मन्थली र भद्रपुरमा हवाई इन्धन भण्डारण रहेको छ । मन्थली २७ किलोलिटर छ भने भद्रपुरमा ५४ किलोलिटर मात्र रहेको छ ।यसैगरी, पोखरामा निगमको भण्डारण पेट्रोलियम पदार्थ क्षमता ३ हजार ४५४ किलोलिटर छ । यस्तै, पेट्रोल ३०५, डिजल २ हजार २८० मट्टीतेल, ७६० र हवाई इन्धन ६४ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

भैरहवा पेट्रोलियम पदार्थ क्षमताको ३ हजार ६४५ मात्र रहेको छ । जसमा पेट्रोल १४० डिजल ३ हजार ५५ मट्टीतेल, ३९४ र हवाई इन्धन ५६ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । भैरहवा पम्पमा पेट्रोल ९ र डिजल १५ गरी जम्मा २४ किलोलिटर रहेको छ ।नेपालगन्जमा निगमको पेट्रोलियम पदार्थ भण्डारण ३ हजार ५ सय ३० किलोलिटर रहेको छ । जसमध्येमा पेट्रोल २ सय १०, डिजल २ हजार २८० मट्टीतेल, ७ सय ६० र हवाई इन्धन २८० किलोलिटर क्षमता रहेको छ ।

यस्तै, सुर्खेतमा भण्डारण मट्टीतेल र हवाई इन्धन गरी जम्मा १ सय ५ किलोलिटर रहेको छ । यसमा मट्टीतेल ४५ र हवाई इन्धन ६० रहेको छ ।धनगढीमा २ हजार ५ सय ५० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ । जसमा पेट्रोल ८५ डिजल १ हजार ५ सय ९०, मट्टीतेल ८३० र हवाई इन्धन ४५ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । डिजेल ३० र मट्टीतेल ३० गरी ६० किलोलिटर क्षमता भएको भण्डारण छ ।


प्रकाशित | १८ कार्तिक २०७६, सोमबार ११:२७