राष्ट्रिय टिममा फर्किए मेस्सी

एजेन्सी: कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ ९कोपा० को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् ।

अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि कोपा अमेरिकाले गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो ।  ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्विकार गरेका थिए ।

कोपामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २(० ले पराजित हुदै उपाधि होडबाट बाहिरिएको थियो । मेस्सीले सो खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए । प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।


प्रकाशित | १५ कार्तिक २०७६, शुक्रबार ०९:०२