सगरमाथामा ट्राफिक जाम: चुचुरोमा ६ सयभन्दा बढी पुगे

काठमाडौं : सगरमाथा आरोहणमा मौसमको भूमिका महत्वपूर्ण हुन्छ । सधैँ अनुकूल हुँदैन । जुन दिन मौसम अनुकूल हुन्छ, त्यही दिन सबै आरोही चुचुरोमा पुग्ने प्रयास गर्छन् । जसले गर्दा सगरमाथामा ‘ट्राफिक जाम’ नै हुन्छ । यसपटक पनि त्यस्तै भयो, एकैपटक दुई सयभन्दा बढी आरोही तथा गाइड चुचुरोमा पुग्दा ९ जेठमा । एउटै सयममा उक्लिने र ओर्लिने क्रम चल्दा आरोहीले धेरै समय पर्खिनुपर्‍यो ।

सगरमाथा आरोहणका लागि एउटा मात्र मार्गमा डोरी टाँगिएको हुन्छ । त्यही डोरी समातेर आरोह गर्ने तथा ओर्लिने गर्छन् । कतिपय ठाउँमा बाटो साँघुरो हुन्छ । त्यस्तो ठाउँमा पनि पालो पर्खिनुपर्छ । त्यसले गर्दा ‘ट्राफिक जाम’ भएको विभागले जनाएको छ ।

केही समययता आरोहीको चाप पनि बढेको छ । ०७२ मा गएको भूकम्पले सगरमाथा आधार शिविरमा पहिरो गएको थियो । त्यसवर्ष सगरमाथा आरोहण स्थगित गरिएको थियो । त्यसवेला आरोहण स्थगित गरेका आरोही अहिले आउन थालेकाले पनि चाप बढ्दै गएको विभागको ठहर छ । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा प्रकाशित छ ।

सगरमाथा आधार शिविरमा पनि भिड लागेको छ । एक महिनायता आधार शिविर भरिभराउ छ । यो याममा एक महिनामा दुई हजारभन्दा बढी व्यक्ति आधार शिविरमा रहेको पर्वतारोहण शाखाप्रमुख आचार्यले बताइन् ।

आधार शिविरमा तीन सय ८१ आरोहीले टेन्ट राखेका छन् । उनीहरूका सहयोगी शेर्पा, सरदार, गाइड र भरिया पनि आधार शिविरमै छन् । ‘आधार शिविरमा एक प्रकारको मानव भिड नै लागेको छ । मान्छे भिड र टेन्टले गर्दा आधार शिविरमा मेला लागेजस्तै भएको छ,’ पर्यटन विभागका सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठले भने ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १०:११