काठमाडौं । काठमाडौँ उपत्यकावासीका लागि कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण खतरनाक रहेको विज्ञहरुले बताएका छन् । समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने विज्ञहरुको चेतावनी छ ।
उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले बताउनुभयो। वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।
काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएको, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणका कामले गति लिँदा वायु प्रदूषण बढ्दै गएको हो । वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समय समयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आए पनि कार्यान्वयनको पाटो निकै कमजोर छ ।
नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको ढुङ्गानाको भनाइ छ । वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण कम गर्न सरकार र आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।
प्रकाशित | २३ पुष २०७७, बिहीबार १०:१४