नेपालमा कोभिड संक्रमण समुदायमा नफैलिएको विज्ञको दावी, ९५ प्रतिशत विदेशबाट आएकामा संक्रमण

काठमाडौँ : नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या बढेको देखिए पनि समुदायमा नफैलिएको पाइएको छ । विदेशबाट उद्धार गरि ल्याउने क्रम बढेको र कोरोना परीक्षणको दायरा फाराकिलो बनाएसँगै केहि बढेको पाइए पनि समुदायमा नफैलिएको विज्ञहरुले स्पष्ट पारेका हुन ।

विज्ञहरुका अनुसार अहिलेसम्म यो रोग समुदायमा फैलिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुवेद पाण्डेले सङ्क्रमितको सङ्ख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलि नसकेको बताउनुभयो । डा पाण्डले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताउनुभयो ।

उहाँका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म कोभिड सङ्क्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ, उहाँहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।”

डा पाण्डेले अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष हुनुहुन्छ । उहाँहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।

अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने उहाँले बताउनुभयो । पछिल्लोपटक छदेखि आठ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।

महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या नौ हजार नाघेको छ ।


प्रकाशित | ८ असार २०७७, सोमबार ०९:५३