‘तुइन विस्थापन कार्यक्रम’मा सफलता हासिल गर्दै सरकार

काठमाडौं : सरकारले शूरु गरेको तुइन विस्थापन अभियान सफल बनाउँदै लगेको छ । सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ प्रभावीकारी बन्दै गएको हो । जस अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठका अनुसार दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गरी त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न निर्देशन दिनुभएको हो ।

सबै जिल्ला प्राविधिक कार्यालयमार्फत तुइनको विवरण सङ्कलन गरिएको थियो । चौवन्न तुइन नजीकै झोलुङ्गे पुल रहेकाले नयाँ पुल निर्माण आवश्यक नरहेको श्रेष्ठले बताउनुभयो । पहिचान भएका पाँच तुइन भारतको सीमामा रहेको उहाँले बताउनुभयो । चालु आवमा पाँच स्थानमा झोलुङ्गे पुल निर्माणको माग आएको छ । तीमध्ये चार ठाउँमा निर्माण शुरु भइसकेको छ । विभागले देशभर १२० मिटरभन्दा लामो झोलुङ्गे पुलको निर्माण गर्दै आएको बताएको छ ।


प्रकाशित | १७ असार २०७६, मंगलवार ०८:३७