नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने : ‘जापान नेपालको असल मित्र’

काठमाडौँ : जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन् । उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन् ।

जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको शान्ति, विकास र प्रगतिको कामना गरिन् । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् । यो खबर आजको नागरिक दैनिकमा छ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार ०९:४७