श्रमिकको हक हितको लागि सरकार समाजवादको आधार तयार गर्न लागिपरेको छ: प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले श्रमिकको हक हितको लागि सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार गर्न लागिपरेको बताउनुभएको छ । ‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ,’ अन्तराष्ट्रिय श्रमिक दिवसकोअवसरमा आज शुभकामना सन्देश दिर्दै प्रचण्डले भन्नुभएको छ । प्रचण्डले परिवर्तन पछिको वर्तमान सरकार र पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न लागिपरेको बताउनुभएको हो । प्रचण्डले जारी गर्नुभएको शुभकामना सन्देश जस्ताको तस्तै

 शुभकामना सन्देश

१३० औं विश्व मजदुर दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।

नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, १० वर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र हो ।

परिवर्तन पछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ । श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ ।

अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु हो । यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वासका साथ पुनः एकपटक श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बधाई ज्ञापन गर्दछु ।

१८ बैशाख, २०७६ (सन् २०१९ मई १)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०८:५७