म, मेरो देश, मेरो एनआरएनए

   भवन भट्ट

म विश्वस्त छु,

‘सबै हात एकै साथ’ नाराका साथ सुरु भएको मेरो यस गरिमामय संस्था एनआरएनएको अध्यक्षको यात्राले आज एउटा अर्को मोड लिँदै छ ।
म आज हर्षित पनि छु । सन् २००३ देखि अर्थात् १६ वर्षअगाडि एक साधारण सदस्यबाट सुरु भएको एउटा सक्रिय, गर्विलो एवं औपचारिक यात्राले दुई वर्षअघि म अध्यक्ष बन्दा एउटा मोड लिएको थियो भने आज अध्यक्ष पद हस्तान्तरण गरेपछि फेरि अर्को मोड लिएको छ । साथै, म स्मरण गराउन चाहन्छु, गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा नहुँदा पनि भवन भट्ट गैरआवासीय नेपाली संघको एउटा सक्रिय सिपाही रहिरहनेछु । पद अस्थायी हुन्, आलंकारिक हुन् तर यस गरिमामय गैरआवासीय नेपाली अभियानप्रतिको मेरो भावना, मेरो समर्पण र मेरो लगानी स्थायी हुन् । पदमा नहुँदा पनि यस अभियानको एक सिपाही भवन भट्ट सक्रिय, झन् सक्रिय रहने वाचा गर्दछु । अबको मेरो यात्रा, आलंकारिक पदभन्दा पर, औपचारिक पदभन्दा पर, एनआरएनएको साधना, चिन्तन र गतिशील अभियानमा फरक लय, फरक गति र फरक ढंगबाट हुनेछ । किनकि अब ८० लाख गैरआवासीय नेपालीलगायत ३ करोड नेपाली मेरो साथमा छन्, म विश्वस्त छु ।

म विश्वस्त छु,

संघमा मैले सुरु गरेका राम्रा कामहरूको निरन्तरता हुनेछ । गैरआवासीय नेपाली संघलाई वित्तीय रूपमा स्वस्थ तथा सबल बनाउन मैले सुरु गरेका विभिन्न काम तथा मैले उपाध्यक्ष हुँदा सुरु गरेको अतिथि देवो भवःजस्ता कार्यक्रमहरूको निरन्तरताले पर्यटनलगायत विभिन्न क्षेत्रको विकास भई नेपाल आमाको सेवामा यो गौरवशाली संस्था झन् खरो उत्रनेछ । संस्थाको स्वास्थ्य सबल बनाउने कुरामा हामीले गत दुई वर्षमा गरेको संघर्षका कथा पनि स्मरण गराउन चाहन्छु । हाम्रो वर्षौंदेखिको सपना हाम्रो आफ्नै कार्यालय भवनका लागि जग्गा खरिद तथा भवन निर्माणका निमित्त २५ करोडको अनुमानित लागत थियो । यसमध्ये जम्मा १८ करोडमात्र उठेको थियो, जसका कारण कुल खर्चका लागि ७ करोड कमी थियो । यस्तै, लाप्राक नमुना बस्तीका लागि ५२ करोडको बजेट तय भएकोमा जम्मा ३८ करोडमात्र उठेको थियो । मेरो कार्यसमितिले ५२ करोडबाट घटाएर ४५ करोडको बजेट तय गर्दा पनि कूल अपुग खर्च ७ करोड रहेको थियो । यस्तै, शंखमूल उद्यानका लागि १ करोड ५० लाखको बजेट बनाइएकोमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्दा ३ करोड ५० लाख खर्च भएको छ । उद्यानको निर्माणमा पनि २ करोड कमी भएको थियो । यसरी लाप्राकमा हामीले ७ करोड बचत गर्दा गर्दै पनि तीनवटै प्रमुख आयोजनामा भएको अपुग कुल बजेट १६ करोड रहेको छ । सञ्चार माध्यमले यही समाचार सम्प्रेषण गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

म विश्वस्त छु,

– अब एकीकृत लाप्राक नमुना बस्तीको व्यवस्थापन सही ढंगले हुनेछ ।

– एनआरएनए केन्द्रीय सचिवालयको पूर्ण सदुपयोग हुनेछ ।

– एनआरएनएद्वारा निर्मित शंखमूलघाट उद्यानको उचित स्याहार–सम्भार हुनेछ ।

– ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माणसम्बन्धी मास्टरप्लानको प्रयोगले यो ऐतिहासिक गढीको पुनर्निर्माण हुनेछ ।

– नेपाल पत्रकार महासंघमा ई–लाइब्रेरी व्यवस्थित हुनेछ ।

– गैरआवासीय नेपली संघको सहभागी राष्ट्रिय खेलकुदमा लगातार रहिरहनेछ ।

– सरकारका रहेका कार्यक्रममा सक्रिय सहभागिता कायम रहनेछ ।

– विश्व बौद्धिक सम्मेलनको आयोजना लगातार हुनेछन् ।

– नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले सक्रियतापूर्वक नेपाल सरकारलाई आफ्नो  अनुभव, ज्ञान तथा सीप हस्तान्तरण गरिरहनेछ ।

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियानले निरन्तरता पाउनेछ । एनआरएनए कृषि कार्यक्रम थप प्रभावकारी हुनेछ ।
– उज्यालो नेपाल अभियानको निरन्तरता हुनेछ ।

– जानकी मन्दिर लाइटिङ परियोजनाको प्रगति हुनेछ ।

– १ सय मिलियन डलर फन्डको सही व्यवस्थापन हुनेछ ।

– माइतीघर मण्डलामा रहेको नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डाले हाम्रो प्यारो जन्मभूमि नेपाल आमाप्रति गर्वले हाम्रो शिर ठाडो बनाइरहनेछ ।

– रोड सेफ्टीका आयोजनाका कामले निरन्तरता पाउनेछन् र नागरिकताको निरन्तरताको पहल अगाडि बढिरहनेछ ।

म विश्वस्त छु,

मेरो तथा मेरो टिमका उपलब्धिहरूको मूल्यांकन त भइ नै रहनेछ, तर हामीले गर्न नसकेका तथा गर्न नभ्याएका एनआरएनए ओलम्पिक्सजस्ता कार्यक्रमहरू समेत अब भावी नेतृत्वले अगाडि बढाउने नै छ ।

म विश्वस्त छु,

♦ भावी नेतृत्वले गैरआवासीय नेपाली र गैरआवासीय नेपाली संघको पहुँच भएका संस्थाहरूबाट नेपालमा लगानी ल्याउन पहल गर्नेछ ।
♦ वैदेशिक रोजगारीलाई अझ बढी सम्मानित र सुरक्षित बनाउन ध्यान दिनेछ ।
♦ गैरआवासीय नेपालीहरू उपस्थित देशहरूमा सम्भाव्यता मापन गरी नेपाली राजदूतावासमा व्यापार सहचारी, पर्यटन सहचारी, श्रम सहचारी राख्ने र उनीहरूको कार्यसम्पादनलाई सहज बनाउन पहल गर्नेछ ।
♦ नेपालका ठूला आयोजनामा नेपाल लगानी बोर्डसँगको सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्नेछ र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने र सहजीकरण गरिदिनेछ ।
♦ गैरआवासीय नेपाली तथा विदेशी लगानी भिœयाउनका लागी धेरै संभावना भएका तर धेरै वर्षदेखि बनाउन नसकिएका आयोजनाहरूमा नेपाल लगानी बोर्डको सहकार्यमा बास्केटमा ल्याइनेछ र लगानीकर्ता खोज्न मद्दत गरिनेछ ।
♦ अझ बन्द रहेका संस्थानहरू पनि सम्भव भएसम्म सञ्चालन गर्न गैरआवासीय नेपालीको सहकार्यमा विदेशी वा नेपाली लगानीकर्ता खोज्न मद्दत गरिनेछ ।
♦ दोहोरो करमुक्ति सम्झौता (डीटीएए), द्विदेशीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) जस्ता सम्झौताहरू नेपालमा लगानी बढाउन अत्यन्त आवश्यक रहेकाले विभिन्न देशसँग यी सम्झौताहरू गरी ती देशहरूबाट लगानी ल्याउन सम्बन्धित देशका गैरआवासीय नेपालीहरूले सहजकर्ताको भूमिका खेल्नेछन् ।
♦ ग्लोबल पासपोर्ट इन्डेक्समा नेपाल १ सय ९९ मुलुकमध्ये अन्तिम १० औं स्थानमा पर्छ, अर्थात् नेपालको पासपोर्ट कमजोर भन्ने थाहा पाउँदा हामी सबैलाई दुःख लाग्छ । सिंगापुरजस्तो विकसित मुलुकले नेपालको पासपोर्टलाई गरेको सम्मानलाई विश्वव्यापीकरण गर्न गैरआवासीय नेपाली संघले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ठोस काम गर्नेर्छ ।
♦ गैरआवासीय नेपाली संघ हाल विश्वमा प्रमुख मुद्दा बनेको वातावरण परिवर्तन तथा यसको संरक्षणको लडाइँका लागि नेपालको योद्धा बन्नेछ ।
♦ गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरी भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्नेछ ।
♦ नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरिनेछ ।
♦ नेपालको विकासका लागि नेपालीमा सकारात्मक सोचको विस्तार गर्न नयाँ पुस्ताका नेपाली युवामा सकारात्मक सोचको विकास गर्न र नैतिक रूपमा पनि संस्कारी नेपालीको विकास
गर्न पहल गर्न प्रयास गर्नेछ ।

आज मेरो धन्यवादको दिन पनि हो ।

म मेरा सबै अग्रज, सहकर्मी तथा मलाई आज यहाँसम्म पु-याउन मद्दत गर्ने सबै हितैषीजनलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद दिनुपर्ने लामो लिस्ट नै छ, समय अभावका कारण अहिल्यै सबैको नाम लिन असमर्थ छु । तर, म प्रत्येक सहयोगी हातलाई भेटेरै धन्यवाद दिनेछु । मेरो कार्यकालमा बिना कुनै स्वार्थ, मेरा लागी एन्जेल बनेर सहयोग गर्ने हातहरूलाई पनि धन्यवाद ।

अन्त्यमा,

म विश्वस्त छु, सबै हात एकै साथको यो एनआरएनएको अभियानमा म सानो हुँदै जानेछ, हामी ठूलो हुँदै जानेछ ।

म विश्वस्त छु,

यो साँच्चै अचम्मको सम्बन्ध, म, मेरो देश, मेरो एनआरएनए झन् कसिलो हुँदै जानेछ । म, मेरो देश, मेरो एनआरएनए ।। जय एनआरएनए ।।।

(गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भट्टले एनआरएनएको नवौं विश्व सम्मेलन समापन समारोह तथा पद हस्तान्तरणका अवसरमा दिएको मन्तव्यको सम्पादित अंश ।)


प्रकाशित | ३ कार्तिक २०७६, आईतवार ११:१८