अन्तत: एनआरएनएको निर्वाचन प्रक्रिया अघि बढ्यो, मतदाता नामावली प्रकाशित

त्रुट्टि सच्याउन र सदस्यता शुल्क नबुझाउनेलाई दुई दिनको समयसीमा

काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो रस्साकसीपछि निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढेको छ । एनआरएनएको निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन सम्बन्धी प्रक्रियालाई अगाडि बढाएको हो ।

प्रकाशित नामावलीमा ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरिएको छ । निर्वाचन प्रकृया पुरा नगरेका युके, अमेरिका, अष्ट्रेलिया र जापानका २५ प्रतिशत प्रतिनिधिहरुको नाम भने प्रकाशन गरिएको छैन । ती देशका २५ प्रतिशत प्रतिनिधिहरु महाधिवेशनमा भाग लिन बन्चित भएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलद्धारा जारी सूचना अनुसार क्यानाडा, कोष्टारिका, अमेरिका, जापान, फिलिपिन्स, बेलारुस, साईप्रस, युके, यूएई र अष्ट्रेलिया सदस्यता शुल्क केन्द्रमा नबुझाउने सूचिमा परेका छन् । त्यसमध्ये युएईले १८८७ मध्ये ५०० जनाको मात्र शुल्क बुझाएको र महाधिवेशन नगरेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, बोस्र्टवाना, रुवाण्डा र कोष्टारिकाले एमआइएसमा आंशिक मात्र मेम्बर दर्ता गराएको, मोजाम्बिक र बेलारुसले एमआइएसमा मेम्बर दर्ता नगरेको, क्यानडाले अगष्ट १५ पछि नयाँ प्रतिनिधिहरु थपेको र ५४ जना लाईभ मेम्बर दर्ता गर्न बाँकि रहेको, नयाँ एनसिसी मेक्सीको, चीन, साउदी अरव र टकीकोको डकुमेन्ट नपुगेको, साउदी अरव र जापानले अगष्ट १५ पछि नयाँ प्रतिनिधिहरु थपेको, बेल्जियम, डेनमार्क, न्यूजील्याण्ड र लक्जेम्वर्गले पाउने भन्दा बढी प्रतिनिधि पठाइएको, यूएईले साधारणसभा सम्पन्न नगरेको भन्दै उनीहरुलाई ८ तारिखसम्म त्रुट्टि सच्याउन समय दिइएको छ । सो समयमसम्म त्रुट्टि सच्याई निवेदन नपरेमा मतदाता नामावलीबाट प्रतिनिधिको नाम हटाइने निर्वाचन कमिटिले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

उता संघका अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नु भएको छ । संघको विधान अनुरुप अध्यक्षले बिभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ । उनीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ (डिसेम्बर २६ र २७ तारिख) मा निर्वाचन हुनेगरी तालिका सार्वजनिक भइसकेको छ । निर्वाचन समितिका अनुसार तोकिएकै मितिमा निर्वाचन हुने छ । मंसिर २० मा मतदाता नामावाली प्रकाशन, २१ मा मतदाता नामावलीउपर दाबीविरोध, २४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंसिर २५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ मा उम्मेदवारविरुद्ध दाबीविरोध, २८ मा उजुरीउपर निर्णय, २९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ मा उम्मेदवारको मनोनयन पत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै पुस ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।


प्रकाशित | २० मंसिर २०७८, सोमबार २२:५६