एनआरएनए अध्यक्ष उम्मेदवार कुमार पन्तलाई संस्थापकदेखि वर्तमान अध्यक्षसम्मको समर्थन

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तलाई संस्थापक अध्यक्ष उपेन्द्र महत्तोदेखि वर्तमान अध्यक्ष भवन भट्ट सम्मले समर्थन गर्नुभएको छ । एनआरएनएको आज हुन गइरहेको चुनावमा संस्थापक अध्यक्ष उपेन्द्र महत्तोदेखि पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भट्टले समर्थन जनाउनुभएको हो ।

हिजोदेखि शूरु भएको एनआरएनको नवौ विश्व सम्मेलनमा राजनीतिकरण भएको भन्दै संस्थापक अध्यक्ष महत्तो सहभागि हुनुभएको थिएन ।  केहि पक्षले राजनीतिक पार्टीको झण्डा बोकेर एनआरएनमा गरिएको राजनीतिकरणले संस्थाको भविष्यमाथि प्रश्न चिन्ह्र खडा भई एनआरएनएको उद्देश्य र विधानविपरीत कार्य भएको भन्दै महत्तोले चिन्ता ब्यक्त गर्नुभएको छ ।

महत्तोले अहिलेसम्म खुलेर कसैलाई समर्थन गर्नुभएको छैन । यद्यपी भित्री समर्थन महत्तोले पन्तलाई गर्नुभएको छ । तर चुनावको नाममा एनआरएनभित्र भइरहेको राजनीतिकरण तथा विधानविपरीत भइरहेका गलत कार्य भने तोड्न सबैमा आह्रवान गर्नुभएको छ ।

त्यस्तै, पूर्व अध्यक्ष देवमान हिराचन, जीवा लामिछाने र शेष घलेसमेत पन्तको पक्षमा उभीनु भएको छ । पूर्व अध्यक्षहरुले एनआरएन चुनावको नाममा विकृति मौलाएको र राजनीतिक पार्टीको झण्डा बोकेर चुनाव लड्नु गलत भएको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभएको छ । तर केहि सल्लाहकारहरुले भने विधानविपरीत राजनीतिक पार्टीको झन्डा ओढेर चुनाव लड्न नपाइने भन्दै त्यस्ता उम्मेदवाररुको उम्मेदवारी रद्द गर्न  माग गर्नुभएको छ ।

त्यस्तै, वर्तमान अध्यक्ष भट्टले अघिल्लो कार्यकालमा गरिएको सहमती अनुसार पन्तलाई समर्थन गर्नुभएको छ । भट्टले यस पटकको नेतृत्वमा पन्तको विकल्प नभएको निस्कर्ष निकाल्दै समर्थन जनाउनुभएको हो । आज साझ हुने चुनावमा अध्यक्षमा पन्त र कुल आचार्य लड्दै हुनुहुन्छ ।


प्रकाशित | २९ आश्विन २०७६, बुधबार १०:२८