लक्ष्य अनुरुप विकास बजेट खर्च हुन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्र लक्ष्य अनुसार नै पूँजीगत खर्च हुने दाबी गर्नुभएको छ । मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराउनुभयो ।

खतिवडाले राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला पनि गर्न नसकिने बताउनुभएको छ । राजस्वको लक्ष्य र संकलनमा अन्तर भएपनि जथाभावी आयात गर्न दिने पक्षमा आफू नभएको बताउनुभयो । ‘ राजस्वको लक्ष्य एउटा तोकिएको छ र त्यसलाई पूरा गर्नुपर्छ भन्ने हो तर जथाभावी आयात बढाएर तोकिएको लक्ष्य पुरा हुनैपर्छ भन्ने अर्थमन्त्री म होइन, मन्त्री खतिवडाले भन्नुभयो,  विलासी वस्तु जति पनि आयात गर्न दिन सकिँदैन ।’

विगतका वर्षमा राजस्वको लक्ष्य पुरा नहुँदा जेसुकै वस्तुको आयातमा खुला गरिएको भन्दै खतिवडाले त्यसलाई गलत कामको संज्ञा दिनुभयो । ‘विगतमा त्यस्तो भएको थियो, त्यो काम अहिले मबाट हुँदैन,उहाँले भन्नुभयो, राजस्वको लक्ष्य पूरा गर्ने रटानमा म छैन, अहिलेको जस्तो आयातलाई सधैँ धान्न सकिँदैन।’


प्रकाशित | १० बैशाख २०७६, मंगलवार २०:०७