कागेश्वरीमा ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम पहिलो चरणमा १५ शिक्षकलाई वितरण

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले “एक शिक्षक, एक ल्यापटप” कार्यक्रम अन्तर्गत १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाभित्र १६ वटा सामुदायिक विद्यालय संचालनमा रहेका छन् । जसमा कार्यरत दुर्इ सय नौ शिक्षक मध्ये पहिलो चरणमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको हो ।

मंगलबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच नवनिर्वाचित नगरप्रमुख उपेन्द्र कार्कीले ल्यापटप वितरण गर्नु भयो । नगरपालिकाकी सूचना अधिकारी लिजना खड्काका अनुसार आज १५ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ भने बाँकी शिक्षकहरुलाई विद्यालयमै पुगेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले ल्यापटप वितरणले प्रविधिमैत्री शिक्षा उपलब्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै नगरप्रमुख कार्कीले शिक्षामा लगानी नपुगेकोले अझै थप लगानी गरेर गुणस्तरीय शिक्षालाई जोड दिने बताउनु भयो । ल्यापटप वितरण कार्यक्रमले शिक्षकहरुमा आधुनिकीकरण, अनलाइन कक्षा संचालनमा सहज र क्षमता अभिवृति हुने नगरपालिकाले विश्वास लिएको छ ।

“एक शिक्षक, एक ल्यापटप” वितरण कार्यक्रम निवर्तमान नगरप्रमुख कृष्णहरी थापाकै कार्यकालमा सुरु भएको थियो । तर स्थानीय तहको निर्वाचन प्रक्रियाले वितरण कार्यक्रम रोकिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७९, मंगलवार २०:१८