एनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको छ । संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४ – ०७५, ०७५ र ०७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको हो । संघका कोषाध्यक्ष श्रेष्ठका अनुसार सन् २०१९, अक्टोवरमा सम्पन्न एनआरएनएको ९ औ महाधिवेशनमा पारित हुन नसकेको सो आर्थिक प्रतिवेदन भएको हो ।

महाधिवेशनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघभित्रको आर्थिक प्रशासनलाई अनुसाशित र पारदर्शी बनाइएको बताउनुभयो। उहाँले संस्थाभित्र आर्थिक परिचालनमा भएका कमीकमजोरीलाई हटाउन काठमाडौंस्थित सचिवालयमा हुने लापरवाहीमा कडाई गरिएको बताउनुभयो ।

आर्थिक प्रतिवेदन पेश गर्दै श्रेष्ठले संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनको लागि आर्थिक तथा कर्मचारी नियमावली, लेखा परिक्षण, वार्षिक बजेट तर्जुमालगायतका सुधारका काम थालिएको बताउनुभयो। उहाँले कोरोना संक्रमणको प्रभावले अनुमानित वार्षिक बजेटभन्दा कम खर्च भएको बताउदै गत वर्षको अनुमानित बजेटबाट जम्मा २९ प्रतिशत बजेट मात्र खर्च भएको जानकारी दिनुभयो ।

आर्थिक प्रतिवेदनमाथि केशव कंडेल, जानकी गुरुङ, गंगाधार गौतम, हरिहर अर्याल, मीनबहादुर जिसी, विदुर खत्री, ओमबहादुर क्षेत्री, सुरज केसी, ज्ञानेन्द्र रेग्मी, सुनिल शाह, चिरन शर्मा, दिलिप गुरुङ, शिवजी श्रेष्ठ, टिबी कार्कीलगायतले संस्थाको आर्थिक प्रशासन सुधारको लागि सुझाव राख्नुभएको थियो ।

अधिवेशनमा प्रतिनिधिहरुले राखेका जिज्ञासाको उत्तर कोषाध्यक्ष महेशकुमार श्रेष्ठलेदिनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष सोनाम लामा, सहकोषाध्यक्ष लोक दाहाल लगायतका पदाधिकारीले बोल्नुभएको थियो । अधिवेशनको सञ्चालन महासचिव डा. हेमराज शर्माले गर्नुभएको थियो ।


प्रकाशित | १२ माघ २०७७, सोमबार ०८:४६