एनआरएनए नेतृत्वमा सहमतीको प्रयास जारी, कुमार पन्त सर्वसम्मत हुने सम्भावना बढ्यो

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेतृत्वमा सर्वसम्मतको प्रयास जारी छ । एनआरएनएमा सहमतीको आधारमा नेतृत्व चयन गर्दै अगाडि बढ्नुपर्नेमा एनआरएनएका पूर्व अध्यक्षहरु नै लाग्नु भएपछि सहमतीको सम्भावना बढेको हो ।

उम्मेदवारी मनोनयन गर्ने अन्तिम सममा आइपुग्दा कुल आचार्यलाई मनाउन संस्थापकदेखि पूर्व अध्यक्षहरु नै लाग्नु भएपछि पन्तको पक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना बढ्दै गएको हो । पन्तलाई सर्वसम्मत गर्न एनआरएनएका अभियन्तादेखि सल्लाहकार र संरक्षकहरु पनि लागिपर्नु भएको छ ।

त्यस्तै, पूर्व अध्यष शेष घले समेत एनआरएनए नेतृत्व मात्र नभई सिंगो कार्यसमिति सर्वसम्मत गर्नुपर्ने पक्षमा देखिनु भएको छ । एनआरएनको अस्तित्व जोगाउने र भविष्य सुरक्षीत गर्नको लागि भए पनि सहमतीको आधारमा एनआरएनमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने अवस्था आएको पूर्व अध्यक्ष घलेको निस्कर्ष छ । अहिलेसम्म कतै नखुल्नु भएको घलेले एनआरएनएभित्रको विकृति रोक्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए संरक्षक राम प्रताप थापा, सल्लाहकारद्धय रामेश्वर साह, हरिबोल भण्डारीलगायत यस पटक एनआरएनएनको नेतृत्वमा पन्तलाई सर्वसम्मत गर्न लागिरहनु भएको छ । अध्यक्षका उम्मेदवार कुल आचार्यालाई वरिष्ठ उपाध्यक्षमा सहमती गर्दै आगामी नेतृत्वको सुनिश्चित गराएर भए पनि निर्वाचनमा जान नहुने र आज रातीसम्म सहमती हुने दावी अभियन्ताहरुको छ ।

उता अन्तिम समयसम्म पनि सहमती नभए कुमार पन्तको दुई तिहाई नजिक नतिजा पुगेको निस्कर्ष निकाल्दै सहमतीको लागि हदैसम्मको लचकता अपनाएर भए पनि प्रस्तुत हुने अभियन्ताको तयारी छ । कुमार पन्तको जित लगभग सुनिश्चित भए पनि कुल आचार्य चुनावी प्रतिस्पर्धामा आउँदा सर्वसम्मत नेतृत्व चयनमा भने बाधा पुग्ने देखिन्छ ।

त्यस्तै, नेतृत्व बाहेकका अन्य पदमा पनि सहमतीको प्रयास जारी छ । एनआरएन वर्तमान अध्यक्ष भवन भट्टले आफना केहि प्रस्ताव अगाडि सार्दै सहमतीको आधारमा नेतृत्व चयन गर्ने पक्षमा उभिनु भएको छ । भट्टले पदाधिकारीका केहि पदमा दावी गरिरहनु भएको छ । केहि पदको दावी गर्नुभएको भट्टको पक्षमा समेत सहमती भए पनि यस पटक एनआरएनए नेतृत्व तहमा राम्रा र काम गर्न सक्ने टिमको बाहूल्यता हुने देखिएको छ ।


प्रकाशित | २७ आश्विन २०७६, सोमबार १०:०९