भक्तपुरमा एमालेद्वारा मिसन २०८४ अभियानको घोषणा, १ हजार ७६१ नयाँ संगठित सदस्यको सपथ ग्रहण

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताउनुभयो ।

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धेरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनुभयो ।

उहाँले यो सपथ ग्रहणको क्षण गौरवशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौं सदस्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको सन्देश दिनुभयो । उहाँले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउँदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरु भएको बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, “एमाले भक्तपुरले मिसन २०८४ सुरु गरेको छ, यो मिसनलाई सफल पारेर आउँदो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आव्हान गर्दछौँ ।”

कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।


प्रकाशित | २२ भाद्र २०८०, शुक्रबार १८:१०