चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण : के–के छन् नेपालका एजेण्डा ?

काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सवालमा विभिन्न एजेण्डाहरु तयार गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि मण्डलसहित वार्ता हुनेछ । लगत्तै दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीहरुमा हस्ताक्षर गर्ने तयारी छ ।

नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौँ–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्छ । सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी छ ।

काठमाडौं–केरुङ रेलमार्गबारे लगानीको मोडालिटीबारे सहमति जुट्न सकेको छैन । नेपालले चिनियाँ अनुदानमै बनोस् भन्ने चाहेको छ भने चीनले नेपालले पनि लगानी गरोस् भनेको छ ।

सडक सञ्जाल अन्तरगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौँ टनेल एजेण्डामा छन् । यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ । चीनसँग जोड्ने सीमा सडकहरु किमाथाङ्का र कोरला उत्तर–दक्षिण कोरिडर पनि एजेण्डामा परेका छन् ।

त्यसैगरी जलविद्यतुमा चिनियाँ लगानीसँगै क्रस बोर्डर ट्रान्समिसन लाइन पनि नेपालको एजेण्डा सूचीमा छ । उच्च क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई देशका अधिकारीहरु लामो समयदेखि छलफलमा थिए । सीको भ्रमणका क्रममा यसको लगानी जुटाउने, डीपीआर गर्ने र जीटूजी ९गभर्नमेन्ट–टू गभर्नमेन्ट० मोडलमा निर्माणको प्रस्ताव गर्ने नेपालको तयारी छ ।

त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई सहयोग गर्नेबारे समझदारी हुनेछ । मनवानपुरमा बनाइने यो विश्वविद्यालयका लागि चीनले सहयोग गर्ने तयारी छ ।


प्रकाशित | २३ आश्विन २०७६, बिहीबार २०:४४