राम्रो नेतृत्व र काम गर्ने ब्यक्तीहरुको टिम बनेमा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय छ: यमकुमार (त्रिलोक) गुरुङ

हङकङ : गैर आवासीय नेपाली संघका पूर्व आइसिसी सल्लाहकार यमकुमार ( त्रिलोक ) गुरुङले आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाविधेशनमा राम्रो नेतृत्व र काम गर्ने ब्यक्तीहरुको टिम बनेमा उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय रहेको बताउनुभएको छ । एनआरएनको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आउनुभएको गुरुङले राम्रो नेतृत्व र नेतृत्व तहमा काम गर्ने ब्यक्तीहरुको टिम बने मात्र उपाध्यक्षमा लड्ने मनसाय रहेको बताउनुभयो ।

विश्वभरीका साथीहरुले एनआरएनमा काम गर्ने ब्यक्तीको अभाव भएको भन्दै नेतृत्व तहमा आउँन दबाब र सुझाव दिइरहेकाले एनआरएनलाई अगाडि बढाउन सक्ने ब्यक्तीहरुको टिम बनेमात्र एनआरएनमा आउने मनसाय बनाएको विश्व सन्देशलाई जानकारी गराउनुभयो । गुरुङले एनआरएनमा काम गर्ने ब्यक्ती नभएको र गफ गर्नेहरुको भिड भएको भन्दै गुनासो आइरहेकाले साथीहरुको सल्लाहअनुसार उपाध्यक्षमा लड्ने मनसाय बनाएको स्पष्ट पार्नुभयो ।

एनआरएनमा शेष घले नेतृत्वमा भएका धेरै राम्रा कामलाई अगाडि बढाउन आवश्यक भए पनि पूरा हुन नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै गुरुङले इटाली सम्मेलनमा पुग्दा धेरैले तपाई जस्तो ब्यक्ती एनआरएनमा आवश्यक छ भन्दै दबाब दिनुभएकोले एनआरएनको भिजन २०२० एण्ड वियोण्ड, एनआरएन नागरिकताको कार्यान्वयन, विदेशबाट १० अर्ब लगानी भित्र्याउनेजस्ता महत्वपूर्ण कार्यलाई अगाडि बढाउन उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो ।

एनआरएनमा सक्षम, इमानदार र एनआरएनमा योगदान गरेको ब्यक्तीको आवश्यक रहेको भन्दै राम्रो नेतृत्वलाई साथ र सहयोग गर्न पनि राम्रा र काम गर्न सक्ने ब्यक्तीहरु नेतृत्व तहमा आउनुपर्ने विचार ब्यक्त गर्नुभयो । एनआरएनए हङकङ अध्यक्ष हुँदै एसिया प्याशिफिकको संयोजक, आइसिसी सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको गुरुङले एनआरएनमा लाप्राक पोजेक्टमा महत्वपूर्ण योगदान गर्नुभएको छ


प्रकाशित | २१ श्रावण २०७६, मंगलवार २०:१३