अनमोल सहकारीको दशौं वाषिक साधारणसभा सम्पन्न, सहकारीले गर्यो करिव ७९ लाख नाफा

भक्तपुर: अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार दशौं वाषिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सूर्यबिनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारी खम्बालाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको गाउँ तथा वडाहरुमा सहकारीको पहुँच पुगेको बताउनुभयो ।

प्रमुख थापाले सूर्यबिनायक नगरपालिकामा रहेका सहकारीले गरेका हरेक गतिबिधिहरुको सुक्ष्म अवलोकन र अध्ययन गरिरहेको बताउँदै सबै सहकारीले आफ्नो धर्मलाई निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले नगरबासीको परिश्रम गरी जोगाएको पैसा सहकारीमा बचत रहने भएकाले सो बचतको सुरक्षाका लागि नगरपालिकाले नियमित अनुगमन समेत ँगरिरहेको जानकारी दिनुभयो । उहाँले सहकारीको माध्यमबाट जनताको आयस्तर उकास्न अनमोल साकोस सफल हुँदै गएकोमा धन्यवाद दिनुभयो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष थापाले नगरपालिकाभित्र १२६ वटा सहकारी संस्था रहेको जानकारी दिँदै सहकारीले आफ्ना बचतकर्ताहरुको आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष बच्चुराम थापाले तीन तहको अवधारणा अनुसार सबै तहको सहकारी सम्बन्धि ऐन, नियम , विनियम र निर्णयहरु एक स्रपता नआएकाले केही जटिलता आएको बताउनुभयो ।

उहाँले संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताउनुभयो ।

सचिव राजु श्रेष्ठले यो संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताउनुभयो । उहाँले वित्तिय क्षेत्रको स्थितिमा सुधार गर्दै जाने र शीप, पेशा, व्यवसाय, उद्योगमा कर्जा प्रवाहमा वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

कोषाध्यक्ष तुलसादेवी थापा राईले रु ५ करोड १२ लाख १६ हजार ४ सय ९६ रुपैयाँ २४ पैसा आम्दानी र ४ करोड ३३ लाख २२ हजार ७ सय ५५ रुपैयाँ ३३ पैसा खर्च भई ७८ लाख ९३ हजार ७ सय ४० रुपैयाँ ९१ पैसा नाफा भएको बताउनुभयो ।

उहाँले संस्थामा १ हजार ६ सय ९ महिला र २ हजार २ सय ३३ पुरुष गरी कूल ३ हजार ८ सय ४२ जना सदस्य रहेको जानकारी दिँदै आर्थिक वर्ष ०७५र७६ मा १ करोड ९४ लाख १२ हजार ४ सय शेयर पूँजी संकलन भएको, बचतमा ४३ करोड ९५ लाख ३६ हजार ४ सय ७१ रुपैयाँ १४ पैसा तथा ऋण लगानीमा ३२ करोड ६२ लाख ३८ हजार ३ सय ६५ रुपैयाँ ३५ पैसा भएको बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि र लगानीको क्षेत्र विस्तार गर्नु पर्ने बताउनुभयो । साथै उहाँले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो ।

कार्यक्रममा रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, समाजसेवी बिदुरमान सिंह बस्नेत, सूर्यबिनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव प्रसाद चौलागाईं, संस्थाका उपाध्यक्ष शंकर केसी, संस्थाका सदस्य विश्वराम थापालगायतले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित | ११ आश्विन २०७६, शनिबार १९:१२