ढुक्क हुनुहोस, एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुन्छ: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तले आगामी एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने विश्वास ब्यक्त गर्नुभएको छ । एनआरएनएको आगामी नवौ विश्व सम्मेलनको लागि अध्यक्षमा उम्मेदवारी घोषण गरिसक्नु भएको पन्तले एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने विश्वास ब्यक्त गर्नुभएको हो ।

पन्तले केहि दिन अघि मात्र काठमाडौंमा आफनो औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । बेलायतबाट वर्तमान उपाध्यक्ष कुल आचार्यले समेत उम्मेदवारी घोषण गरिसक्नु भए पनि पन्तले एनआरएनएको नजिर हेर्दा १०-१५ मत खसीसक्दा पनि सहमती भएर नेतृत्व चयन भएको इतिहास साक्षी रहेको भन्दै आगामी नेतृत्व सहमतीको आधारमा हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएको पन्तको अबको अन्तिम विकल्प अध्यक्ष नै रहेपछि पन्त एक कार्यकाल उपाध्यक्ष रहनु भएको आचार्यलाई मिलाएर अन्तिममा सहमतीको प्रयास गर्ने पक्षमा उभिनु भएको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै पन्तले भन्नुभयो, ‘कुल आचार्य जी मेरो अत्यन्त घनीष्ठ मित्र हुनुहुन्छ, ब्यक्तीगत रुपमा कुल जी सँग मेरो निकै राम्रो सम्बन्ध छ, संस्थागत रुपमा एउटा विन्दुमा पुगेर हामी सहमती गछौ र सहमतीको आधारमा नेतृत्व चयन गर्छौ ।’

‘मेरो कुनै प्यानल र राजनीतिक पार्टीसँग आबद्धता छैन’

अध्यक्षका उम्मेदवार पन्तले आफनो कुनै प्यानल र टिम नरहेको समेत प्रष्ट पार्नुभएको छ । ‘एनआरएनएमा सबै साथीहरुलाई आउने अधिकार छ, मेरो कुनै टिम वा प्यानल छैन, बाहिर कसैले कसैलाई प्यानल वा टिमसँग जोड्छ भने त्यो गलत हो’, पन्तले भन्नुभयो । एनआरएनए एक गैर राजनीतिक र गैर नाफामूलक संस्था भएको बताउँदै पन्तले आफू कुनै राजनीतिक पार्टीसँग समेत आबद्ध नरहेको र आफूलाई लाग्ने गरेको आरोप मिथ्या शावित भइरहेको बताउनुभयो ।

एनआरएनको स्थापनाकालदेखि नै आफू एनआरएनको अभियानमा सहभागी हुँदै आएको बताउँदै पन्तले आफूले अहिलेसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएको र एनआरएनभित्र कुनै राजनीतिक दलको झण्डा बोकेर चुनाव समेत नलडेको बताउनुभयो ।


प्रकाशित | ८ आश्विन २०७६, बुधबार १८:३३