बम काण्डका आरोपित आलमलाई थुनामा राख्न आदेश

काठमाडौं: रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरुले बहस गरेका थिए । ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सहित तीन वटा मुद्दामा निलम्वित सांसद पक्राउ परेका हुन् ।

यसअघि अलामको पक्षबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका रमण श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरे भुषणलगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

१२ वर्ष अघि २०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवास्थित चुनावको समय घरमा बनाउँदै गरेका बम विष्फोट पछि बम पड्किँदा बमबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहित दर्जन बढी व्यक्तिलाई औषधि उपचार गराउन भनी गाउँ निकाल गरी जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । सोही आरोपमा सांसद आलम सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।


प्रकाशित | २९ कार्तिक २०७६, शुक्रबार २०:३६