सूर्यविनायक नगर अस्पताल शनिबारदेखि संचालनमा आउँदै, पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

भक्तपुर – सूर्यविनायक नगर अस्पताल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न जगातीमा निर्माण गरेको २५ शय्याको अक्सिजन प्लान्टसहितको अस्पताल भोलिदेखि संचालनमा आउने भएको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे अस्पतालको उद्घाटन गर्नु हुने कार्यक्रम छ ।सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अस्पतालको लागि आवश्यक भवनलगायतका पूर्वाधार निर्माण सम्पन्न भएकाले अस्पताल सञ्चालन ल्याइएको बताउनु भयो ।

नगरपालिकाले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण गरेको छ ।

मेयर थापका अनुसार अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा भवन लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

नगरपालिकाले अस्पताल सञ्चालनसँगै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशक बनाएर सेवा शुरु गरेको हो ।

सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि बस्नेतले रु एक करोड ५० लाखको बजेट व्यवस्था गर्नु भएको छ । नगरपालिकाले वडा नं ५ दधिकोटको स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ ।


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार २०:३५