यात्रुको सङ्ख्या कम भएको भन्दै निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

काठमाडौं : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।  पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पु¥याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो ।

 


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १६:१९