एमालेसँग गठबन्धनको प्रयासमा लोसपा

काठमाडौं -चुनाव नजिकिँदै गर्दा चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा एमालेसँग नजिकिएको छ । लोसपाले वार्ता गर्न समिति बनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा लोसपाले बनाएको समितिमा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । समितिलाई आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरूसँग सहकार्यको निर्णय गर्ने गरी वार्ता गर्ने अधिकार दिइएको छ ।

पाँच वटा दल मिलेर गठबन्धन बनेपछि एक्लिएको एमालेले पनि मधेश प्रदेशमा लोसपासँग तालमेल गर्न चाहेपछि वार्ता समिति बनाइएको लोसपा नेताहरू बताउँछन् । लोसपा नेता जितेन्द्र सोनल निर्वाचनमा हारजित भन्दा पनि विचार र सिद्धान्त मिलेकाले एमालेसँग चुनावी तालमेलको प्रयास भएको बताउँछन् । उनी भन्छन्, ‘अन्य दलभन्दा एमाले तालमेलका लागि लचिलो भएको पाएका छौं ।’

एमालेले लोसपालाई केही सहयोग हुने गरी नै सहकार्यको प्रस्ताव गरेको जनाइएको छ । तर नेता लोसपा अध्यक्ष ठाकुरले भने तत्काल केही निर्णय दिएका छैनन् । तर सहकार्यका पक्षमा रहेको भन्दै उनले वार्ता समिति नै बनाएका हुन् । एमालेले आउँदो चुनावमा आफू एक्लै लड्ने बताउँदै आए पनि तालमेलका लागि सम्भावित साना दलहरूको खोजी भने गरिरहेको छ ।


प्रकाशित | ८ आश्विन २०७९, शनिबार १३:५५