होलीमा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौँ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।

प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिसकेको छ ।

काठमाडौं प्रशासनले पनि सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ । बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ ।


प्रकाशित | १४ चैत्र २०७७, शनिबार १७:२४