श्रमजीवि पत्रकारको पारिश्रमीकमा कहीकतै तलमाथि हुन्न : गोकुल बाँस्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तोकिएअनुसारको पारिश्रमिकमा कँही कतै तलमाथि हुन नदिने बताउनुभएको छ । श्रमजीवि पत्रकारहरुले कागजमा एउटा र पेरोल अर्कै दिने गरेको गुनासो आएको बताउँर्दै श्रमजीवि पत्रकारलाई तोकिए बमोजिमको तलव दिएको बिषयमा सरकार प्रष्ट हुन चाहेको बताउनुभयो ।

‘श्रम संस्कृतिको सम्मान, श्रमको मुल्य र सामाजिक न्यायको मुद्दालाई स्थापित गर्ने बर्तमान सरकारको लक्ष्य हो, यस्मा कँहीकतै तलमाथि हुन्न, यही मान्यताका आधारमा श्रमजीवि पत्रकारलाई तोकेअनुसारको पारिश्रमिक दिइएको छ कि छैन भनेर सरकार प्रष्ट हुन चाहेको हो,’ नेपाल पत्रकार महासंघले आज आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले मिडिया हाउसमा पेरोल फरक फरक हुने गरेको उजुरीका आधारमा सरकारले मिडिया हाउसले नै तोकेको पेरोल अनुसार श्रमजीविलाई तवल दिनुपर्ने बिषयलाई लिएर अन्यथा प्रचार नगर्न आग्रह गर्नुभयो । ‘श्रमजीवि पत्रकारलाई मिडिया हाउसले दिएको कगजातअनुसार तलव दिए नदिएको बिषयलाई लिएर प्रेस स्वतन्त्रता हननको कुरा उठाउन न्यायसंगत छैन, श्रमको, पसिनाको मुल्य तिर्नूपर्दा शोसनका पक्षपातीहरुलाई सधै १०५ डिग्रि ज्वरो आउँछ, अहिले म त्यो हेरिरहेको छु, देखिरहेको छु, तर यो सरकारको नीति नै श्रमको सम्मान, श्रमको मुल्य र सामाजिक न्याय स्थापना रहेकोले त्यसबाट ब्याक हुने ठाउँ छैन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले सरकारले पुस मसान्तबाट पारिश्रमिक भुक्तानी बैंकमार्फत गर्ने निर्णय कार्यान्वयन गरेको प्रष्ट पार्दै श्रमको मुल्य दिनुपर्ने बिषयमा कुनै संझौता हुन नसक्ने अडान लिनुभयो । ‘मिडिया हाउसले पेश गरेको पेरोल र दिने गरेको पेरोलमा भिन्नता हुनु ठगी हो, सरकार यस्तो ठगीलाई स्वीकार गर्दैन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले मिडिया मालिकको पक्षमा पनि आफूले पहिला नै संझौता गरेको भन्दै सरकार मालिक वा श्रमजीवि दुवैको हितमा काम गरिरहेको बताउनुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १६:११