भक्तपुर: नगरकोटमा अवैध रुपमा बनाइएको घर टहरा भत्काइएको छ । व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र करसमेत छली गर्दै आएको भन्दै स्थानीय बासिन्दाले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए । नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोकमा समेत गरी करीब ३०० घरटहरा बनेको जग्गा अतिक्रमण गरी बनेका छन् ।
चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा आज डोजर लगाएर भत्काएको हो । डोजर लगाएर अतिक्रमण गरी अवैधरुपमा बनाएको ३०० वटा घर टहरा भत्काउन गएको डोजरलाई घरटहरा सञ्चालकले अवरोध गरेपछि प्रहरी र सञ्चालकबीच झडप भएको छ । नगरपालिका, वन कार्यालय, जिल्ला प्रशासन र प्रहरी समेतको निर्णयबाट अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रममा अवरोध गरी ढुङ्गा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले केहीबेर लाठी प्रहार गरेपछि अवरोध गर्न गएको भीड तितरवितर भएको थियो । त्यसपछि स्थानीयले सडकका बीचमा टायर बालेर केहीबेर अवरोध पु¥याएका थिए । वन क्षेत्रमा अवैधरुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यावसायिक घरटहरा एक महीना अगाडि नगरपालिकाले भत्काएको थियो । त्यसपछि नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि घर टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाले आज डोजर लगाएर भत्काएको हो ।
नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका घरटहरा हटाउन १० वर्षअघिदेखि नै निर्णय भए पनि कार्यान्वयन नभएको र अहिले त्यसलाई कार्यान्वयन गरेको बताउनुभयो । नगरपालिका क्षेत्रमा सामुदायिक वन र सडकसमेत अतिक्रमण गरी बनाएका घर टहरामा रेष्टुरेष्ट एवं खाजा घरलगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएपछि नगरपालिकाले आफँै भत्काउन पटकपटक सूचना जारी गर्दा पनि नभत्काई अटेर गरेपछि आज डोजर लगाएर भत्काएको उहाँले बताउनुभयो ।
प्रकाशित | १ भाद्र २०७६, आईतवार १६:५२