समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भयो भन्दै भ्रामक प्रचार गरियो : डा. केशव पौडेल

काठमाडौं –  गैर आवासीय नेपाली संघको लागि आगामी कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भयो भन्दै भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाउनु भएको छ । सोमबार विभिन्न ७ बुँदे सहमति भएको बुँदै सहमतिपत्र बाहिरिएपछि डा. पौडेलले समस्या जस्ताको तस्तै राखेर सहमति भयो भन्नू भ्रामक प्रचार भएको बताउनु भयो ।

डा. पौडेलले एक विज्ञप्ति जारी गर्दै समस्यालाई सही ढङ्गले संवोधन गर्ने, निकास दिने भन्दा पनि पदीय दुरुपयोग गरेर छलकपट गर्दै पेलेर जाने नियतले संघको भविष्यलाई सङ्कटमा पार्ने बताउनु भयो ।

‘समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भएको भन्ने भ्रामक प्रचार प्रति खेद व्यक्त गर्दछ’, उहाँले भन्नु भएको छ, ‘सङ्घका जिम्मेवार व्यक्तिहरूको अवान्छनिय गतिविधिले सघको साख अझै गिरेको छ। यस्ता गतिविधि तुरुन्त बन्द गरी संस्थाको मेरुदण्डका रूपमा रहेका नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदहरुको भेलाले दिएका सुझावको कार्यान्वयन, सल्लाहकार समितिले दिएको सल्लाह र विधि विधान भित्र रहेर अगाडि बढौँ ।’

‘गैर आवासीय नेपाली सङ्घको वर्तमान कार्यसमितिका केही व्यक्तिहरूले विधि, प्रक्रिया र प्रचलित अभ्यासलाई मिचेर मनोमानी ढङ्गले प्रतिनिधि चयनमा गरेको धाँधली, एमआइएस सिस्टमका नाममा सदस्यहरूको विवरण लिएर त्यसलाई दुरुपयोग गरी एनसीसी जापानको निर्वाचनमा भारत र नेपालबाट मतदान गरी निर्वाचन प्रभावित गरिएको प्रमाणित दस्ताबेज, आइएलओको सहयोग फन्डमा गरिएको भ्रष्टाचार, सरकार विरुद्धको मुद्दा लगायतका गंभिर अपराध र षडयन्त्रलाई ओझेलमा पार्न मात्र सहमतिका नाममा बार्ता र विवाद समाधान उच्चस्तरीय समिति बनाइएको छर्लङ्ग हुँदै छ’, उहाँले भन्नु भएको छ ।

मिलेर नै जाऔँ, टेबलमा बसेर समस्याको समाधान गरौँ, विधि र प्रक्रियाबाट चलौँ संस्थाको बृहत् हितका लागि सहमतिको जग निर्माण गरौँ भन्ने चाहाना र लचकतालाई कमजोरीको रूपमा नबुझन पनि उहाँले आग्रह गर्नु भयो ।

त्यस्तै, अध्यक्ष सहित बहुमत सदस्यको राजीनामा पछि विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार नभएको र सबैको सहमतिमा नयाँ निर्वाचन समिति गठन गरी यथाशीघ्र निर्वाचन गर्नका लागि काम थाल्न सम्बन्धित पक्षसँग माग गर्नु भएको छ ।


प्रकाशित | २७ पुष २०७८, मंगलवार १२:४७