वाग्मतीको फोहरलाई मोहोरमा परिणत गरिँदै

काठमाडौं : वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले यो उदाहरणीय काम शुरु गरेको हो ।

मञ्चले आज २८९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमै गरेको छ । भदौ ११ गते गोकर्णे औँसीको तयारीस्वरुप मन्दिर क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । गत वर्ष मञ्चले भाद्र कृष्ण औँसीका दिन एउटा पनि टपरी नदीमा फाल्न नदिई कम्पोष्टविनमा राखेको थियो । त्यो कम्पोष्टविन आज खोलेर हेर्दा दुई ट्रक कम्पोष्ट मल जम्मा भएको भेटियो । यो सबै क्षेत्रका सफाइ अभियानकर्मीका लागि उदाहरण हुनसक्छ ।

मल आजै माकालबारीस्थित बज्रयोगिनी नर्सरीलाई दिइएको थियो । नर्सरीले वाग्मती नदी किनारको विभिन्न स्थलमा रोप्न बिरुवा दिने जनाइएको छ । वाग्मतीको मुहानदेखि नै नदीलाई सफा बनाउन यस्तो अभियान शुरु गरिएको जनाइएको छ । मञ्चले कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहरलाई व्यवस्थापन गर्दै आएको छ । यसो गर्दा फोहरलाई मोहोरमा रुपान्तरण गर्न सकिने भएकाले गुह्येश्वरीमाथिको नदी क्षेत्रमा यो अभियान बिस्तार गरिने मञ्चले जनाएको छ ।

मञ्चले गुह्येश्वरीभन्दामाथिको वाग्मती सफाइ गर्ने गरी पूर्व मुख्यसचिव लीलामणि पौडेसँग जिम्मेवारी लिएको थियो । त्यसअनुरुप हाल यो क्षेत्रको वाग्मती उदाहरणीय बन्न थालेको छ । यस क्षेत्रका विभिन्न स्थानमा बगैँचा बनाइएको छ । फलस्वरुप बेलुकी मानिस नदी किनारमा जम्मा भएर बस्न थालेका छन् ।

वाग्मती–रुद्रमती दोभानमा ३२७ औँ हप्ता

वाग्मती सफाइ महाअभियानको ३२७ औँ हप्तामा बुद्धनगरस्थित नदी किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । १९ संस्थाको सहभागितामा भएको सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको उपस्थिति रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता थियो । वाग्मती र रुद्रमती नदी किनारमा भएको कार्यक्रममा ओम शान्तिले विभिन्न जातका १०० बिरुवा पनि रोपेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हरिालाल तण्डुकारलगायत पनि सहभागी हुनुभएको थियो ।

रुद्रमती सफाइको २८१ हप्तामा मैतीदेवी मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मी सहभागी हुनुभएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

विष्णुमती सफाइ महाअभियानको २५४ औँ हप्तामा टोखा नगरपालिका–११ मनोहर तीर्थबाट वडा नं ९ को नयाँबसपार्कसम्म सफाइ गरियो । नेपाली सेना, नेपाल प्रहरीलगायत स्थानीयवासीको सफाइमा सहभागिता थियो । जनचेतनामूलक कार्यक्रमसँगै गरिएको सफाइमा वडा कार्यालयले फोहर व्यवस्थापनका लािग डष्टविन र कम्पोष्टविन बाँडिएकाले लिन समेत आह्वान गरिएको थियो ।

गुह्येश्वरीमा नयाँ अभियान

वाग्मतीको तिलगङ्गा क्षेत्र सफाइको २२७ औँ हप्तामा त्यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर पुरियो । नकुहिने फोहरलाई व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिनुभयो । वाग्मतीलगायत नदी अभियानबाट प्रेरित भई गुह्येश्वरीको पञ्चकन्या टोलले अभियान शुरु गरेको छ ।

अभियान शुरु गर्नुहुँदै अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नदी सफा गर्न किनारका प्रत्येक टोलवासी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । गुह्येश्वरी–पञ्चकन्या टोल सुधार समितिका अध्यक्ष हरिबहादुर पाण्डेले आजदेखि प्रत्येक शनिबार बिहान सातबजेदेखि सफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

आलोकनगर सफाइ अभियानको १२५ औँ हप्तामा लोकेश्वर महादेव मन्दिर परिसरबाट शुरु गरी श्रीनगर गणेश मन्दिर तथा पार्क परिसरमा सफाइ गरियो । सफाइका क्रममा जनचेतनामूलक जागरणसमेत फैल्याइएको संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।

चक्रपथ सफाइ अभियान २०७१ को १०५ औँ हप्ताको कार्यक्रम बफलबाट कलङ्कीको स्यूचाटारसम्म सफाइ गरिएको थियो । सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी पनि सहभागी हुनुभएको थियो । सफाइ अभियान गाउँपालिकामा पनि शुरु गर्ने उहाँको प्रतिबद्धता थियो । उत्तर क्षेत्रको चक्रपथ सफाइ अभियानको १२४ औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बिपी स्मृति अस्पतालसम्म सफाइ गरियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । सफाइमा २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी वाग्मतीको सुन्दरीघाट, मनोहरालगायत स्थानमा पनि सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । प्रत्येक हप्ता दुई घण्टा राष्ट्रका लागि भन्ने नाराका साथ देशभर १०५ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । रासस


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १४:२१