सुविसु सेवा केही दिनमै पूर्णरुपमा सञ्चालनमा आउँने

काठमाडौं : इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ । काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भिषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुविसु कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ । विसं २०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो । क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुविसुले जनाएको छ । काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको छ । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १२:०१