भक्तपुर : सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेको तर्फबाट बासुदेव थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी कार्यालय सूर्यविनायक चोकदेखि तामझामसहित पैदल हिडेर राष्ट्रिय प्राणी उद्यानस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराउनु भएको हो ।
पाँच वर्षे पहिलो कार्यकाल सफल रुपमा बिताउनु भएको थापालाई पार्टीले पुन: मेयरमा उम्मेदवार बनाएको थियो । त्यस्तै, एमालेको तर्फबाट उपमेयरमा बालकोटबासी सरिता भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ता कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, प्रदेश सासद सशीजंग थापा, चाँगुनारायण नगरपालिकाका मेयर तथा एमाले जिल्ला ईन्चार्ज सोम मिश्र, पूर्व जिल्ला अध्यक्ष राजेन्द राजथला, जिल्ला नेता राजकुमार सिलवाल, किरण थापालगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
त्यस्तै, सूर्यविनायक नगरमा एमालेको तर्फबाट वडा नं. ८ बाहेक अन्य वडामा पुरानै उम्मेदवारलाई चुनावमा उठाइएको छ । वडा नं ८ मा पुष्प राज बस्नेतले उम्मेदवारी दिनु भएको छ । नगरमा ९ वटा वडा छन् ।


माओवादीले गरायो छुट्टै उम्मेदवारी दर्ता, कांग्रेस साधारण सदस्यता त्याग्दै खायमलीको स्वतन्त्र उम्मेदवारी
त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट सूर्यविनायक नगर प्रमुखमा निशान ढुंगेलले उम्मेदवारी दिनु भएको छ । गठबन्धनबाट उम्मेदवारी दिए पनि सूर्यविनायक नगरपालिकामा पाँच दलीय गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट मेयरमा कल्पदीप राई र उपमेयरमा नमूना चौलागाईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै, मेयरको आकांक्षी रहनु भएका कांग्रेसका नेता नारायणभक्त खायमलीले नेपाली काँग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिर्दै स्वतन्त्र उम्मेदवारी दिनु भएको छ। गठबन्धन तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का भक्तपुर अध्यक्ष श्यामसुन्दर बस्नेतको उम्मेदवारी परेको छ ।
उता नेमकिपाको तर्फबाट नगर प्रमुखमा श्याम विशुन्के र उपप्रमुखमा चनमती खुलीमुलीको उम्मेदवारी दर्ता भएको छ ।
प्रकाशित | १२ बैशाख २०७९, सोमबार २३:०३