सदन खुलाउन सभामुखको प्रयास जारी

काठमाडौं: प्रतिनिधिसभाको जारी अवरोध खुलाउने उद्देश्यले सभामुख कृष्णबहादुर महराले आज दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गर्नुभएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्तापक्षबाट पहल गर्न आग्रह गर्नुभएको सभामुख महराको सचिवालयले जनाएको छ । छलफल सकारात्मक भएको र सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ । साउन १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार सो दिनको बैठक सूचना प्रकाशित गरी स्थगन गरिएको थियो ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार २१:१४