एनसिसीबाट विधानसम्मत आएका प्रतिनिधिहरुलाई मान्यता दिन्छौ: कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद्हरुले विधानसम्मत पठाएका प्रतिनिधिहरुलाई मान्यता दिने बताउनु भएको छ । अध्यक्ष पन्तले विभिन्न देशबाट विधानसम्मत तरिकाबाट आएका प्रतिनिधिहरुलाई मान्यता दिने र सोही अनुसारको नामावली निर्वाचन कमिटिलाई पठाइने बताउनु भएको हो ।

आगामी निर्वाचनको लागि आज साझ मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पाटन उच्च अदालतले आइतबार एनआरएनएको निर्वाचन प्रक्रिया अगाडि बढाउन बाटो खुला गरेसँगै अध्यक्ष पन्तले एनसिसीले विधानसम्मत पठाएको लिष्टलाई निर्वाचन कमिटिमा पठाइने बताउनु भयो ।

‘एनसिसीहरुबाट विधानबमोजीम पठाइएका नामावली निर्वाचन कमिटिलाई पठाउँछौ र निर्वाचन कमिटिले सोहीअनुसार मतदाता नामावली सार्वजनीक गर्छ’, उहाँले भन्नु भयो, ‘प्रकाशित नामावली उपर दावी विरोध परेमा विधानसम्मत रुपमा निर्वाचन कमिटिले छानबीन गरि अन्तिम नामावली प्रकाशन गर्नेछ ।’

यसअघि अन्तिम मतदाता नामावली आउनु आगवै शक्तीको दूरुप्रयोग गरिएको र आफू न्यायलयको ढोक ढकढकाउन बाध्य भएको उहाँले बताउनु भयो । उहाँले कसैलाई पनि अन्यायमा पर्न नदिने बताउँदै कसैलाई अन्यायमा परेको लागेको छ भने आफूसँग आउन आग्रह गर्नु भयो ।

पन्तले यसअघि प्रतिनिधिको विषयमा तीन ठूला मुलुकमा मात्र नभई विभिन्न देशबाट ७० वटा भन्दा बढी दावी विरोधहरु आएको बताउनु भयो । यो पटकको निर्वाचनमा विश्वभरिका ६२ देशका ३६ सय बढी प्रतिनिधिहरु निर्वाचनमा सहभागि हुँदैछन् ।


प्रकाशित | २० मंसिर २०७८, सोमबार १२:३६