काठमाडौँ महानगरले ल्यायो २५ वटा कानुन

काठमाडौं: काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ । ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्य्विधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् ।

उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य–मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


प्रकाशित | १६ श्रावण २०७६, बिहीबार ०७:२५