लिभरपुल र म्यानचेस्टरको जित,चेल्सी बराबरीमा रोकियो

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा वेस्ट ह्यामले पेनाल्टी पाएपनि जारोड वोवेनले गोल गर्न नसक्दा वेस्ट ह्याम बराबरीबाट चुक्दा पराजित हुन पुग्यो ।

यस जितसँगै लिभरपुल १० खेलबाट १६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ११ खेलबाट ११ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हटस्परमाथि २–० को महत्वपूर्ण जित निकालेको छ । युनाइटेडको जितमा फ्रेड र ब्रुनो फर्नान्डेसले गोल गरे । फ्रेडले ४७औं मिनेटमा गोल गर्दा ब्रुनोले ६९औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यस जितसँगै युनाइटेड १० खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्ला पराजित टोटेनहमले दोस्रो स्थानमा उक्लने अवसर गुमाउादा २३ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।

अर्को खेलमा चेल्सी घरेलु टोली ब्रेन्टफर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यस बराबरीले चेल्सी २० अंक जोडेर चौथो तथा ब्रेन्टफर्ड १४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई १–० ले पराजित गरेको छ । न्यूक्यासलको जितमा मिगुइल अल्मिरोनले ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।


प्रकाशित | ३ कार्तिक २०७९, बिहीबार १०:५४