३८ क्विन्टल सुन तस्करी प्रकरण: दुवै पक्षबाट बहस सकियो, आज आदेश आउँदै

काठमाडौं: ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक बहसमा सर्वोच्च अदालतले मंगलबार आदेश दिने भएको छ । १९ असारयता लगातार सुनुवाइ भइरहेको यो मुद्दामा सोमबार दुवै पक्षका वकिलले बहस टुंग्याएका छन् । सोमबार अबेर मात्र बहस सकिएकाले मंगलबार मात्रै आदेश हुने सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छोड्ने भन्ने निर्णय गर्नेछ । थुनछेक सम्बन्धमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दिएको आदेश चित्त नबुझेपछि प्रतिवादी पक्ष सर्वोच्चसम्म आइपुगेको हो । सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दा भने जिल्ला अदालत मोरङमा चलिरहेको छ ।

सुन तस्करीका आरोपीहरू भुजुङ गुरुङ, विमल पोद्दार, महावीरप्रसाद गोल्यान, डिएसपी सञ्जयबहादुर राउतलगायत उच्च अदालत विराटनगरको आदेश चित्त नबुझेपछि सर्वोच्च आएका हुन् । उनीहरूविरुद्ध आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्यज्यान मुद्दा दायर भएका थिए ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो । दुई महिनाको अनुसन्धानपछि टोलीले पहिलो मुद्दामा फरारसहित ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा हत्या तथा संगठित अपराध ऐनअन्तर्गत अभियोग दर्ता गराएको थियो, जसमध्ये ३१ जनालाई पुर्पक्षका लागि जेल जलान गरिएको थियो । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा छ ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०६:५७