यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन सक्दैनौं : ब्यवसायी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने अवस्था रहेको बताउनुभएको छ । सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि सरकारी संयन्त्रबाट आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले बताउनुभयो ।

‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन गर्न सक्दैनौँ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ’ अध्यक्ष कर्माचार्यले भन्नुुभयो, ‘सरकारले साहुको चिन्ता लिनु परेन, तर मजदुर दैनिक खर्चको व्यवस्थापन गर्न पहल गरिदिनु पर्यो भनेका हौँ ।’

‘यो अवस्थामा गाडी सञ्चालन हुनु र रोकिनुमा केही फरक नपर्ने भएकाले यही अवस्थामा गाडी गुड्न सक्दैन भनेर सरकारलाई आफ्नो कुरा राखेका छौँ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो,‘ सरकारले केही गर्ला भन्ने आशा छ ।’

उता यातायात व्यवस्था विभागले भने स्वास्थ्य मन्त्रालयले अब सार्वजनिक यातायात चलाउँदा हुन्छ भनेर भनेपछि मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने र त्यसको बारेमा तयारी गरिने जनाएको छ ।


प्रकाशित | २१ असार २०७७, आईतवार २०:०४