‘एनआरएनलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी’

किशोर पन्थी /न्यूर्योक

विदेशमा बस्ने एनआरएनहरुलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको कानुनविद् तथा एनआरएनए नेपाली नागरिकताको निरन्तरता सम्बन्धि टास्क फोर्सका पूर्व कोचयर तथा वर्तमान सल्लाहकार खगेन्द्र जीसीले बताउनुभएको छ ।

कोरोना संक्रमणबिरुद्ध जुध्न नेपाल सरकारले जारी गरेको यात्रा प्रतिबन्धमा एनआरएनहरुलाई नेपाली नागरिकसरह व्यवहार नगरिएकोमा जीसीले आपत्ति जनाउनुभएको हो ।

जीसीले भन्नुभयो – ‘कोरोना संक्रमणबिरुद्ध नेपालको लडाईमा हामी विदेशमा रहेका एनआरएनहरुको सधै साथ र सहयोग रहन्छ । तर यात्रा प्रतिबन्ध लगाउँदा एनआरएनलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको छ ।’

नेपालको संविधानमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । तर नेपाली नागरिक र एनआरएनलाई प्रवेशमा गरिएको विभेदले यो संवैधानिक व्यवस्थाको समेत उल्लंघन गरेको जीसीले बताउनुभयो ।

‘संविधान अनुशार एनआरएनलाई राजनीतिक अधिकारबाहेक अरु कुनै पनि कुरामा नेपाली नागरिक सरह व्यवहार हुनुपर्छ । एनआरएनएलाई नेपाल प्रवेशमा गरिएको विभेद असंवैधानिक भएकाले सरकारले तुरुन्त सच्याउनुपर्छ । नेपाली नागरिक र एनआरएनबीच विभेदकारी अवस्था श्रृजना गरेको छ । एनआरएनका सन्दर्भमा अरु विदेशी सरह नै व्यवस्था गर्न पाइदैन, ‘ जीसीले भन्नुभयो ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार २१:०८