खच्चडमा सुन तस्करी, यसरी भेटियो ओडारमा तस्करीको १६ किलो सुन

गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित ओडारबाट तस्करीको १६ किलो सुन फेला परेको छ । प्रहरीले सुन ओसारपसार गर्ने धार्चे–१ यारुबगरका ४३ वर्षीय धनकमल गुरुङलाई पनि पक्राउ गरेको छ । ओडारभित्र जमिन खनेर बोरामा राखिएको दुईवटा झोलामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । बरामद सुन चीनबाट तस्करी गरिएको प्रहरी भनाइ छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा केशव गुरुङले गोरखाबाट लेख्नुभएको छ ।

यसरी भेटियो सुन

११ असारमा धनकमलले खच्चडमा सुन लिएर माछाखोलातर्फ आउँदै गरेको थाहा पाएपछि लुटेरा समूहले सुन लुट्ने योजना बनाएको थियो । त्यो थाहा पाएपछि धनकमलले पहिले नै ओडारमा सुन लुकाएका थिए ।

पछि उनीमाथि आक्रमण पनि भयो । आक्रमण गर्नेमध्ये चारजनालाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेकाले धनकमलले सुन ल्याएको बताएपछि प्रहरी उनको खोजीमा लाग्यो । लगत्तै धनकमल मात्र होइन, उनीमाथि आक्रमण गर्ने पनि सम्पर्कविहीन भए । घटना थप रहस्यमय बन्दै गयो । धनकमलका छोराले पनि हराइरहेको बुबालाई खोजिपाऊँ भनेर जिल्ला प्रशासन कार्यालय गोरखामा निवेदन दिएका थिए । उनले वडाध्यक्षलाई समेत बुबा हराएको जानकारी दिएका थिए ।

हराएको २७ दिनपछि उनलाई प्रहरीले काठमाडौंमा प्रक्राउ गर्‍यो । त्यसपछि धनकमलले नै प्रहरीलाई ओडारमा सुन लुकाएको ठाउँ देखाएका थिए । गुरुङ धार्चे गाउँपालिकाको हुल्चुकका खच्चर व्यवसायी हुन् । खच्चडमा उनले सुन तस्करी गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि आफूलाई एक व्यक्तिले त्यो सुन ओसार्ने जिम्मा दिएको बताएका छन् । तर, उनले प्रस्ट नाम दिन सकेका छैनन् ।

यसअघि पनि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा प्रहरीले चेकजाँच गर्ने क्रममा १० किलो सुनसहित दुईजना पक्राउ परेका थिए । उत्तरी गोरखामा चीनसँग जोड्ने रुइला र ङुइला गरी दुई नाका छन् । ती नाकाबाट सुन तस्करी हुने आशंकामा प्रहरीले कडा जाँच गर्ने गरेको छ । तर, हालसम्म तस्करी रोकिएको छैन ।


प्रकाशित | १० श्रावण २०७६, शुक्रबार ०६:४६