पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे जस्तोसुकै प्रतिकारमा उत्रने विद्यार्थी संगठनको चेतावनी

काठमाडौं – विभिन्न ७ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । आज संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नगरे मुल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् । साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान समेत गरेका छन् ।

संयुक्त विज्ञप्ति

नेपाली विद्यार्थीहरुको आशा र भरोसाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजिविकाको पक्षमा सदैव क्रियाशील विद्यार्थी संगठनहरु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौता हिन लडाईमा समाहित हुँदै आएका छौं ।

आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टि–तेलमा ३ रुपैयाँ र हवाई ईन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै कोरोना महामारीले जनता आक्रान्त भएको अवस्थामा, जनतालाई राहत दिनु त कहाँ हो कहाँ, सरकार कोभिड खोप लुकाउनमा व्यस्त छ, गरिब जनताको चुल्हो निभ्ने गरी मुल्य बढाउने जनतामारा कदमले हामीलाई आक्रोशित बनाएको छ् । मुल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदम प्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छौं । पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न जोडदार माग गर्दछौं ।

अन्यथा हामी मुल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रन बाध्य हुनेछौं र यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिन चाहन्छौं । साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौं । हार्दिक अभिवादन सहित !


प्रकाशित | ६ माघ २०७८, बिहीबार १८:२८