सगरमाथा आरोहणमा १९३ आरोही : हालसम्म ४६ आरोही समूहको आरोहण अनुमति

काठमाडौं : यस वर्ष सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ४६ आरोही समूहका १९३ आरोहीबाट २५ करोड ५६ लाख २८ हजार ८३७ रूपैयाँ रोयल्टी जम्मा भएको छ । सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ ।

विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०७:००