एनआरएन विशेष रिपोर्ट : एनआरएनए एनसिसीको चुनाव धमाधम, कुन एनसिसीको चुनाव कहिले ?

किरण बुढाथोकी/ काठमाडौं 

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषद्को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । आइसिसीको सम्मेलन अघि सम्पन्न गर्नुपर्ने एनसिसीको अधिवेशन र चुनाव यतिखेर धमाधम भइरहेको छ । ८० वटा एनसिसी रहेको एनआरएनएको अधिवेशन धमाधम भइरहेको हो ।

विश्वभरी छरिएर रहेका नेपालीहरुको साझा सस्था एनआरएनएले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ । विधानत दुई दुई वर्षमा अधिवेशनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया छ । सोही प्रक्रिया अनुसार एनआरएनएका विश्वभरी रहेका एनसिसीहरु यतीखेर धमाधम अधिवेशन गरिरहेका छन् । एनआरएनए आइसिसीले तोकेको अक्टोवरको सम्मेलन अगावै सम्पूर्ण एनसिसीको अधिवेशन तथा नयाँ नेतृत्व चयन गरिसक्नुपर्छ ।

अहिलेसम्म सबैभन्दा ठूलो अर्थात धेरै पञ्जीकृत सदस्यता रहेको अष्ट्रेलियाले आफनो अधिवेशनसँगै नयाँ नेतृत्व चयन गरिसकेको छ । केहि दिन अघि मात्र अष्ट्रेलियाले नयाँ नेतृत्व चयन गरेको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए )अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत हुनुभएको छ । अष्ट्रेलियामा एनआरएनएका पञ्जीकृत सदस्यता संख्या ११ हजार ६ सय १७ छन् । यस पटक अमेरिकालाई उछिन्दै अष्टे«लिया सबैभन्दा ठूलो एनसिसी बनेको छ ।

यो पटक अष्ट्रेलियापछिको दोस्रो ठूलो एनसिसी अमेरिकाले पनि अधिवेशन र निर्वाचन दुवै सम्पन गरिसकेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा सुनिल साह निर्वाचीत हुनुभएको छ । साहको नेतृत्वमा निर्वाचीत नयाँ कार्यसमितिले पद्भार समेत समालीसकेको छ ।

उता अहिलेसम्म अमेरिकापछिको ठूलो मानीने एनआरएनएको पहिलो एनसिसीको रुपमा कहलाएको यूकेले नयाँ सदस्यता आह्वान अझै जारी छ । एनआरएन यूकेको अधिवेशन आगामी अगष्ट १० मा गर्ने निर्णय भइसकेको छ । यथपी अहिले सदस्यता अभियान जारी रहेकाले अमेरिका र अष्टे«लियासँग दाँज्न मिल्ने अवस्था छैन । एनआरएन यूकेमा यतीखेर चुनावी सरगर्मी निकै बढेको छ ।
तीन सबैभन्दा ठूलो एनसिसी अष्टे«लिया, अमेरिका र यूकेलाई निकै अर्थपूर्ण र निर्वाचनको हिसावले समेत महत्वपूर्ण एनसिसी मानीन्छ । आइसिसीमा हुने निर्वाचनमा यहाँबाट आउँने आइसिसी सदस्यको महत्वपूर्ण हात हुने गर्छ ।

त्यस्तै, अहिलेसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युगान्डाको अधिवेशन सम्पन्न भइसकेको छ । युगान्डामा बिनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए एनसीसी) ओमानको पाँचौ अधिवेशन पनि सम्पन्न भएको छ । ओमानमा क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो ।
एनआरएनका विभिन्न अन्य एनसिसीले पनि अधिवेशन मिती घोषणा गर्दै तयारी गरिरहेका छन् । एनआरएनए क्यानाडाको १० औं अधिवेशन आउँदो अगष्ट १७ तारिखमा गर्ने निर्णयअनुरुप नयाँ सदस्यता खुल्ला गरिएको छ ।

मध्यपूर्वका कतार, दुवई, कुवेत, साउदी अरवलगायतका एनसिसीले पनि अधिवेशनको तयारी तीब्र पारिरहेका छन् । एनआरएनए कतारको अधिवेशन तथा नयाँ नेतृत्व चयनको निर्वाचन यही अगष्ट २३ मा हुँदैँछ । एनआरएनए युएईको १६ अगस्टमा हुँदैछ भने कुवेतको छैठौ अधिवेशन आगामी जुलाई २६ मा गर्ने गर्ने निर्णय भएको छ ।

उता अफ्रिका क्षेत्रमा युगान्डाको अधिवेशन सम्पन्न भएसँगै यतिखेर नाइजेरिया अधिवेशनको तयारीमा जुटेको छ । नाइजेरियाको सातौ वार्षिक साधारणसभा तथा अधिवेशन यही जुलाई १४ तारिखमा हुँदैछ । अन्य सक्रिय एनसिसीले पनि अधिवेशनको तयारी गरेको बुझिएको छ । यथपी यहाँ धेरै एनसिसी निस्कृय देखिन्छन् ।

एनआरएन एसिया प्याशिफिकको भर्खरै क्षेत्रीय बैठक सम्पन्न भएको छ । क्षेत्रीय बैठक अघि हालसम्म यो क्षेत्रमा कसैले पनि एनसिसीको अधिवेशन तथा निर्वाचन गरेका छैनन । एसिया प्याशिफिकभित्र गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ को सातौ अधिवेशन यही जुलाई २८ मा गर्ने घोषणा गरिएको छ । जसको लागि तयारी तीब्र पारिएको छ । अर्को एनसिसी कोरियाको सातौ अधिवेशन सेक्टेम्बर 21 र 22 मा गर्ने घोषणा गरिएको छ । एनआरएनए जापानको नवौं अधिवेशन अगष्टमा गर्ने घोषणा गरिए पनि मिती भने तोकिएको छैन । अन्य चीन, मकाउ, मलेसियालगायतका एनसिसी पनि अधिवेशनको तयारीमा जुटेका छन् ।

त्यस्तैगरि यूरोप क्षेत्रमा पनि क्षेत्रीय स्तरको बैठक सम्पन्न भएपछि मात्र धेरै एनसिसीको अधिवेशन र निर्वाचन कार्यक्रम राखिएको छ । अगामी अगस्ट ३ र ४ तारिखको दिन इटालीको रोममा क्षेत्रीय सम्मेलन आयोजना गरिएको छ । सम्मेलन अगावै अहिलेसम्म नर्वेको अधिवेशन सम्पन्न भएपनि नयाँ नेतृत्व भने चयन भएको छैन ।

अन्य एनसिसीले धमाधम अधिवेशनको मिती तोक्दै नेतृत्व लिने दौडमा छन् । एनआरएनए बेल्जियमले आगामी अधिवेशन अगस्ट १८ र निर्वाचन २५ मा गर्ने निर्णय गरेको छ । एनआरएनए रसियाले अगस्ट २५ तारिखका दिन अधिवेशन गर्ने भएको छ । एनआरएनए जर्मनीको सेप्टेम्बर १६ मा अधिवेशन हुँदैछ । केहि एनसिसीले भने अधिवेशन र निर्वाचन गुपचुप ढंगले गर्दै आएका छन् । यूरोपमा धेरैजसो एनसिसी सक्रिय रहेकाले यूरोप सम्मेलनपछि अधिवेशन गर्ने मनसाय राखेको देखिन्छ ।

समग्रमा एनआरएन एनसिसीको अधिवेशन र निर्वाचन धमाधम भइरहेको देखिन्छ । यो पटक पछिल्लो निर्वाचन सम्पन्न भएका एनसिसीमा संगठनमा तल्लो स्तरबाट आएका ब्यक्ती मात्र नेतृत्वले आउनुले एनआरएनएनको साख र गरिमालाई थप बढाएको देखिन्छ। जस्तो अमेरिका र अष्टे«लिया एनसिसीमा निर्वाचीत नयाँ नेतृत्वबाट त्यही पाठ सिक्न् सकिन्छ । यो माहौल अन्य एनसिसीमा पनि सर्छ वा संगठनमा शक्ती, पहुँचको भरमा सिधै ल्याइएका ब्यक्ती नेतृत्वमा आउँछन् भन्ने विषयलाई यतिखेर सबै एनआरएन अभियन्यता तथा शुभचिन्तकहरुले निकै चासोको साथ हेरिरहेका छन् ।


प्रकाशित | २५ असार २०७६, बुधबार २०:०१